सेमेस्टर प्रणाली गुनासै गुनासा



प्रशान्त ओली

त्रिभुवन विश्वविद्यालयले गत वर्षको शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेसँगै हजारौं विद्यार्थी पढ्नबाट वञ्चित भएका छन्। अनिवार्यरूपमा हाजिरी हुनुपर्ने प्रावधान ल्याएसँगै स्नातक तह उत्तीर्ण भएका विद्यार्थी जागिरका कारण पढ्न पाएका छैनन्। त्रिभुवन विश्वविद्यालयले देशभरका क्याम्पसमा यस वर्षदेखि सेमेस्टर प्रणाली लागू गरे पनि सोचेअनुरूप सफल हुन सकेको छैन। सेमेस्टर प्रणाली अव्यावहारिक र अवैज्ञानिक भएको भन्दै विद्यार्थीको गुनासो बढेको छ।


आफू उत्तीर्ण भए पनि जागिर गरिरहेकाले पढ्न नपाएको र छोड्न पनि नमिल्ने भर्खरै स्नातक उत्तीर्ण गरेका विद्यार्थी अनिल भण्डारीले बताउनुभयो। विद्यार्थीको गुणात्मक क्षमता बढाउन र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिको धारणा विकास गरी अन्तर्राष्ट्रिय बजारमा बिकाउ शिक्षा प्रदान गर्न भनी सेमेस्टर प्रणाली लागू गरे पनि कार्यान्वयनमा चुनौती देखिएको छ। जसले गर्दा विद्यार्थी पुरानै पाठ्यक्रम अध्ययन गर्न बाध्य भएका छन्। विद्यार्थीले सेमेस्टर प्रणालीमा अध्ययन गरे पनि यो प्रणाली वार्षिक परीक्षा प्रणालीभन्दा त्यति धेरै तात्त्विक अन्तर नभएको गुनासो गरेका छन्।

विद्यार्थीले सेमेस्टर प्रणालीलाई व्यावहारिक बनाउन क्याम्पस प्रशासन नै जिम्मेबार हुनुपर्ने बताउँछन्। गत वैशाखमा पहिलो सेमेस्टरमा विद्यार्थीलाई भर्ना गरिए पनि उपयुक्त भौतिक संरचना र कतिपय विषय प्राध्यापकको खेलाँचीका कारण सेमेस्टर प्रणाली द्रुत गतिमा अघि बढ्न नसकेको हो। सेमेस्टरमा प्रत्येक शैक्षिक सत्रको ६–६ महिनामा परीक्षा लिइनुपर्ने, प्रत्येक पाठ सकिएपश्चात् विद्यार्थी केन्द्रित क्रियाकलाप हुनुपर्ने, विद्यार्थी केन्द्रित विधि अनिवार्य अवलम्बन गरिनुपर्नेलगायतका प्रावधान राखिएको छ। कक्षाकोठामा हाजिरी लिने सिस्टम लागू भए पनि त्यो वैज्ञानिक र उपलब्धिमूलक बन्न सकेको छैन। सेमेस्टरमा पढाइ हुने कुल दिनको ८० प्रतिशत हाजिरी हुनुपर्ने व्यवस्था छ। विद्यार्थीको गुणात्मक क्षमता बढाउन र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिको धारणा विकास गरेर अन्तर्राष्ट्रिय बजारमा बिकाउ शिक्षा प्रदान गर्न भनी सेमेस्टर प्रणाली लागू गरे पनि कार्यान्वयनमा चुनौती देखिएको छ। यद्यपि, सेमेस्टर सिस्टम नयाँ मानिए पनि पद्धति परम्परागत नै रहेको देखिएको छ। सेमेस्टरमा प्रत्येक ६–६ महिनामा परीक्षा हुनुपर्ने, पाठ्यक्रम समयानुकूल हुनुपर्ने, दैनिक हाजिर हुनुपर्ने, विद्यार्थीलाई असाइनमेन्ट दिनुपर्ने, भौतिक पूर्वाधार उपयुक्त हुनुपर्ने प्रावधान रहे पनि अधिकांश लागू हुन सकेको छैन। जसले गर्दा हजारौं विद्यार्थी अन्योलमा परेका छन्। केही प्राध्यापकले विद्यार्थीलाई नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएको पुस्तकको विषयमा समेत अंग्रेजी माध्यमबाटै परीक्षा दिन दबाब दिएका छन्। विद्यार्थीले भने आफूहरूले नेपाली माध्यमबाट परीक्षा दिनु आफ्नो मौलिक हक रहेको बताउँछन्।

सेमेस्टर सिस्टमलाई सोचेअनुरूप बनाउन प्रत्येक क्याम्पसले छुट्टै योजना बनाउन आवश्यक रहेको विद्यार्थीको तर्क छ। असोज मसान्तसम्म परीक्षा भइसक्नुपर्ने भए पनि अहिलेसम्म त्रिभुवन विश्वविद्यालयले केही संकायको परीक्षा तालिकासमेत सार्वजनिक गर्न सकेको छैन। विद्यार्थी संगठनहरूले सेमेस्टर प्रणाली त्रिभुवन विश्वविद्यालयका पदाधिकारीका कारण असफल भएको बताउँछन्। विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कमल बढुवालले भने– ‘भौतिक संरचना, परिमार्जित पाठ्यक्रमलगायतका तयारीबिना त्रिविले जसरी सेमेस्टर प्रणाली लागू गरेको छ। यसले समग्रतया विद्यार्थीका भविष्यमाथि खेलवाड गरेको छ। तसर्थ समयानुकूल र व्यावहारीक शिक्षा दिनु भन्नेतर्फ त्रिभुवन विश्वविद्यालय पटक्कै लागेको छैन।

अहिले त्रिविमा राजनीतिशास्त्र, भूगोल, इतिहासलगायतका विषयमा विद्यार्थीको संख्या निकै कम छ। सेमेस्टर चलेपछि त विद्यार्थी आकर्षित हुनुपर्ने होइन र ? ’ सेमेस्टर प्रणाली लागू भए पनि कहिलेबाट परीक्षा गराउने भन्नेबारे त्रिभुवन विश्वविद्यालय नै जानकार छैन। विश्वविद्यालयका मानविकी शास्त्रका डीन शिवलाल भुसालले भन्नुभयो– ‘पाठइ्क्रम हतार–हतारमा बनाइयो। शैक्षिक क्यालेन्डर पुससम्म बनाउँछौं। वार्षिक परीक्षा प्रणालीको अझै झन्झट हट्न नसक्दा केही चुनौती देखिएका छन्। चुनौती छिचोल्दै जाने हो। विश्वविद्यालय नै यस्तै छ। विस्तारै सुधार होला।’ त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली लागू गर्न आंगिक क्याम्पसहरूलाई निर्देशन दिए पनि पूर्वाधारमा ध्यान नदिएको विद्यार्थी संगठनको आरोप छ। आंगिक क्याम्पसहरूमा भौतिक पूर्वाधारको अवस्था र मानवीय स्रोतको प्रयाप्त व्यवस्था भए नभएको बारे ध्यान नदिएकाले पूर्वाधारमा जोड दिन आवश्यक रहेको अखिल क्रान्तिकारीका नेता प्रवीण शर्माले बताउनुभयो।

त्रिभुवन विश्वविद्यालयले राजधानीसहित देशभरि नै लागू गरेको सेमेस्टर प्रणालीका कारण विद्यार्थीको उपस्थिति नभएको देखिएको छ। ‘धेरै विद्यार्थी सानातिना जागिर खाएरै पढ्छन्। सेमेस्टर सिस्टम लागू भएपछि काम गरेर पढ्ने अवस्था छैन’, महेन्द्र बहुमुखी क्याम्पस घोराहीका सहायक क्याम्पस प्रमुख सुदर्शन रिजालले भन्नुभयो– ‘अहिले नियमित उपस्थिति हुनुपर्ने र आन्तरिक मूल्यांकन प्रणालीअन्तर्गत चल्नुपर्ने भएकाले विद्यार्थीको संख्या कम भएको हो।’ सेमेस्टर प्रणाली नहुँदा भर्ना गरेर नियमित कक्षामा नआए पनि फरक पर्दैन थियो। तर, यो प्रणालीमा हरेक विद्यार्थीको ८० प्रतिशत उपस्थिति अनिवार्य भएका कारण विद्यार्थी संकायमा गिरावट आएको हो।’ सेमेस्टर प्रणालीमा अन्तरक्रियात्मक, अनुसन्धानत्मक, सहमागीयत्मक र ८० प्रतिशत हाजिर हुनुपर्ने व्यवस्था भएकाले थोरै विद्यार्थीलाई धेरै शिक्षकको आवश्यकता हुन्छ तर त्यसको व्यवस्थापन गर्न विश्वविद्यालयले ध्यान दिन नसकेको बताइएको छ।

महेन्द्ररत्न क्याम्पस ताहाचालका विद्यार्थी नेता दीपेन्द्र शाहीले शिक्षा प्रणाली व्यवस्थित र मर्यादित हुनुपर्नेमा जोड दिनुभयो। विश्वविद्यालयमा प्रमुख राजनीतिक पार्टीको कार्यकर्ता भर्ती केन्द्र बनाउन दलहरूमा प्रतिस्पर्धा देखिएकाले शैक्षिक क्षेत्र लथालिंग भएको शाहीको आरोप छ। सेमेस्टर प्रणालीमा आउन नसकेका विद्यार्थीलाई कुनै न कुनै रूपमा समेट्नुपर्नेमा उहाँले जोड दिनुभयो। सेमेस्टर प्रणालीको बारेमा धेरै विद्यार्थीले नबुझेको बताउँछन्। २०२८–०३२ सालमा नेपालमा सेमेस्टर प्रणाली लागू भएको थियो। त्यसबेला सफल हुन नसकेपछि २०३६ सालमा भएको विद्यार्थी आन्दोलनको कारण वार्षिक प्रणाली नै लागू भएको थियो।

अहिले त्रिविमा राजनीतिशास्त्र, भूगोल, इतिहासलगायतका विषयमा विद्यार्थीको संख्या निकै कम छ। सेमेस्टर चलेपछि त विद्यार्थी आकर्षित हुनुपर्ने होइन र ? ‘सेमेस्टर प्रणाली लागू भए पनि कहिलेबाट परीक्षा गराउने भन्नेबारे त्रिभुवन विश्वविद्यालय नै जानकार छैन।

विश्वविद्यालयका मानविकीशास्त्रका डीन शिवलाल भुसालले भन्नुभयो– ‘पाठ्यक्रम हतारहतारमा बनाइयो। शैक्षिक क्यालेन्डर पुससम्म बनाउँछौं। वार्षिक परीक्षा प्रणालीको अझै झन्झट हट्न नसक्दा केही चुनौती देखिएका छन्।’

प्रतिक्रिया दिनुहोस्