सि जिनपिङ आजीवन राष्ट्रपति बन्ने बाटो खुल्ला



बेइजिङ, (एजेन्सी)
चीनले नेताको कार्यकालको सीमाअवधि हटाउन अनुमोदन गरेको छ। वर्तमान राष्ट्रपति सि जिनपिङलाई आजीवन राष्ट्रपति बनाउने उद्देश्यले यो कदम उठाइएको हो। चीनको नेसनल पिपुल्स कंग्रेसको वार्षिक सभाले आइतबार यस सम्बन्धमा संविधान संशोधन गरेको हो।

रबर स्ट्याम्पिङ अभ्यासका रूपमा यस संशोधनमाथि मतदानको आयोजना भएको थियो। कंग्रेसको २ हजार ९ सय ६४ सदस्यमध्ये २ जनाले विपक्षमा मतादन गरेका थिए भने ३ जना सदस्य अनुपस्थित रहेका थिए।

नब्बेको दशकदेखि चीनमा राष्ट्रपतिमाथि २ कार्यकालको सीमा तोकिएको थियो। तर सो नियमअनुसार सन् २०२३ मा पदबाट हट्नुपर्ने सिले गत अक्टोबरको कम्युनिस्ट पार्टीको कंग्रेसमा आफ्नो सम्भावित उत्तराधिकारी प्रस्तुत गर्ने परम्पराबाट पछि हटेका थिए।

बरु उनले पार्टीको संविधानमै उनको नाम र रानीतिक सिद्धान्त राख्ने विषयमा मतदान गराई उनले आफ्नो राजनीतिक शक्ति अझै मजबुत गरेका थिए। यसबाट उनको स्तर र प्रतिष्ठा चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्से तुङको हाराहारीमा पुगेको छ।

विश्वका अन्य मुलुकहरूमा संसद् भनिएजस्तै चीनमा कंग्रेस सबैभन्दा शक्तिशाली वैधानिक निकाय मानिन्छ। अब कानुनतः सि जिनपिङको पदमाथि कसैले पनि चुनौती दिन नसक्ने भएको छ।

माओपछि यति धेरै शक्ति सञ्चय गर्ने सि पहिलो नेता भएका छन्।५ वर्षअघिसम्म बेइजिङमा सामूहिक नेतृत्वले देश चलाउने गरेको थियो। पूर्वराष्ट्रपति हुजिन्ताओको नीतिगत र राजनीतिक दृष्टिकोण नौ सदस्यीय पोलिटब्युरोको स्थायीसभाबाट हुने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्