पुँजी बजारमा नयाँ लगानीकर्तालाई अवसर



नेपाल समाचारपत्र
काठमाडौं
पुँजी बजारमा निरन्तरको गिरावटका कारण लगानीकर्ता अन्योलमा रहेका बेला नयाँ लगानीकर्ता प्रवेश गर्ने उपयुक्त समय भएको शेयर विश्लेषकहरूको भनाइ छ। वाणिज्य बैंक र जलविद्युत्लगायतका करिब दुई दर्जन कम्पनीको शेयरमूल्य आईपीओको हाराहारीमा आएको हुँदा नयाँ लगानीकर्ता पुँजी बजारमा प्रवेश गर्ने समय भएको उनीहरूको दाबी छ।

बजार निरन्तर ओरालो लागेको भए पनि एउटा निश्चित बिन्दूमा पुगेपछि पुनः वृद्धि हुने भएकाले ऋणमा कारोबार गर्ने लगानीकर्ताबाहेक अरू हतोत्साही हुनुनपर्ने उनीहरूको भनाइ छ। चार्टर्ड फाइनान्सियल एनालिस्ट एवम् शेयरका प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालका अनुसार
पुँजी बजारमा चार वर्षको गोल साइकल र चार वर्षको बियर साइकल हुन्छ। नेपालको सन्दर्भमा सन् २००४ देखि २००८ सम्म गोल साइकल रह्यों। नेप्से ११ सयको हाराहारीमा पुगेर ३ सयसम्मको हाराहारीमा झरेको थियो। सन् २०१२ मा ३ सयबाट माथि चढेर सन् २०१६ मा १८ सय ८० को अंकमा पुगेको थियो। तसर्थ, अहिले बजार झर्दो क्रममा छ, यो अझै केही समय चल्छ।

बजार घट्नुको कारण बैंकहरूले बोनस, हकप्रद जारी गर्दा शेयर कारोबार र शेयर संख्या बढेको छ। तर, सोही दरमा लगानीकर्तामा बढोत्तरी देखिएको छैन। त्यस्तै बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले पनि बजारलाई प्रभावित गरिरहेको छ।

बजार निरन्तर घटेको स्थितिमा ब्याजमा लगानी गर्नेहरूलाई समस्या हुन्छ। जो दुई तीन वर्ष ‘होल्ड’ गर्न सक्छन्। जस्ले बिना ब्याजको लगानी गरेका छन् उनीहरूले अहिलेको नोक्सानी केही समयपछि उकासिन सक्ने बस्यालको विश्लेषण छ।

पछिल्लो चरणमा १४ सय ४४ को बिन्दूबाट ‘फलिङ सेग्मेन्ट’ शुरू भएको थियो। शेयर बजारको ‘इलेट वेभ एनालिसिस्’को आधारमा विश्लेषण गर्दा बजार बिन्दू ११ सय ६० को हाराहारीमा पुग्छ।त्यो एक डेढ महिनाको अवधिभित्रै हुन्छ त्यसपछि दुई–तीन महिना बजारले फेरि उकालो लागेको देखाउने सम्भावना छ। यद्यपि, वर्षको अन्त्यमा फेरि बजार तल नै जाने उहाँको तर्क छ।

यसैबीच अघिल्लो साता अन्तिम दुई दिनको कारोबारमा उकालो लागेको नेप्से परिसूचक यस साताको पहिलो दिन फेरि ओरालो लागेको छ। साताको पहिलो दिन आइतबार पुँजी बजार ३१ दशमलव शून्य ४ अंकले घटेर १ हजार २ सय ८४ दशमलव ९ अंकको बिन्दूमा पुगेको छ।

शेयर बजार दोहोरो अंकले ओरालो लागेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। १ सय ६० कम्पनीको ७ लाख ६३ हजार ५ सय ९१ कित्ता शेयरको ३२ करोड ५१ लाख ९ हजार रुपियाँ बराबर कारोबार भएको हो। ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६ दशमलव ४ बिन्दूले ओरालो लागेर २ सय ७३ दशमलव ६ अंकमा पुगेको छ।

आइतबार नेप्सेमा सूचीकृत दशवटै समूहको शेयर मूल्य ओरालो लागेको छ। सबैभन्दा धेरै बीमा समूहको उपसूचक २ सय ४३ दशमलव १८ अंकले घटेको छ। बैंकिङ समूह २३ दशमलव १५, होटल समूह ६३ दशमलव ५२, विकास बैंक समूह २५ दशमलव ५२, जलविद्युत् समूह ६४ दशमलव ६५, फाइनान्स समूह ८ दशमलव ६८ अंकले घटेका छन्।

त्यसैगरी उत्पादन समूह ५२ दशमलव १७, अन्य समूह १० दशमलव ७५ र माइक्रोफाइनान्स समूह ४५ दशमलव ५२ अंकले ओरालो लागेका छन्। आइतबार कारोबारमा आएका १ सय ६० कम्पनीमध्ये १ सय ५२ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ। आठवटा कम्पनी बाहेक सबै कम्पनीको शेयरमूल्य घटेको छ। सिद्धार्थ इक्विटी फन्ड, श्रीइन्भेष्टमेन्ट फाइनान्स, खानीखोला हाइड्रोपावर, बेस्ट फाइनान्स कम्पनी, नयाँ नेपाल लघुवित्त विकास बैंक, लक्ष्मी इक्विटी फण्ड र ग्लोबल समुन्नती स्किम–१ का लगानीकर्ताले मात्र नाफा कमाएका छन्।

सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले ९ दशमलव ३८ प्रतिशतले गुमाएका छन भने नेपाल इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ३३ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्