आर्थिक समृद्धिका लागि उद्यमशीलता जरुरी



नेपाल समाचारपत्र
काठमाडौं
मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकास गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन्। आइतबार मिडिया इन्टरनेसनलको स्थापना दिवसका अवसरमा आयोजित समृद्धिको बाटो बृहत् आर्थिक कार्यक्रमका वक्ताहरूले यस्तो बताएका हुन्।

कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले कृषि क्षेत्रलाई व्यावसायिक बनाउनुपर्ने बताए। मुलुकमा विद्युत्, सडकलगायतको विकाससँगै राजनीतिक स्थिरतासमेत आइसकेकाले अबको बाटो भनेको उद्यमशीलता हुनुपर्ने उनले बताए। भौगोलिक विविधता रहेको नेपालको हिमाल, पहाड र तराईमा छुट्टाछुट्टै किसिमका कृषि व्यवसाय गरेर मुलुकको आर्थिक विकासमा टेवा पुर्याउन र आफ्नो जीवनस्तर उकास्न सकिने उनको भनाइ थियो। कार्यक्रममा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक दलहरूले पनि अब आर्थिक मुद्दा उठाउन थालेको बताए।

आर्थिक समृद्धिका लागि मुलुकमा प्रशस्त सम्भावना रहेको भन्दै उनले उक्त सम्भावनालाई विकासमा बदल्नका लागि राज्यले प्राविधिक र वित्तीय सहयोगका साथमा बजारको समेत व्यवस्था गर्नुपर्ने बताए। हरेक व्यक्तिले राष्ट्रिय भाव राखेर उद्यमशीलतामा लाग्नु जरुरी रहेको उनको भनाइ थियो।

त्यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले मुलुकका सबै क्षेत्रको फोकस आर्थिक समृद्धितर्फ हुनुपर्ने र यसका लागि उद्यमशीलताको विकास अत्यावश्यक रहेको उल्लेख गरे। स–साना आर्थिक क्रियाकलापलाई राष्ट्रिय अर्थतन्त्रको मूलधारमा ल्याउनका लागि राज्य आफैं सक्रिय भएर लाग्नुपर्ने उनले बताए। यसका लागि मुलुकको राष्ट्रिय अर्थनीतिका तीन खम्बा सरकारी, निजी र सहकारी क्षेत्रको संयुक्त पहल हुनुपर्नेमा उनले जोड दिए।

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेले मुलुकभित्र प्रशस्त सम्भावना हुँदाहुँदै पनि आयात बढिरहेको, निर्यात घटिरहेको, युवा विदेशिएको र खेतबारी बाँझो रहेको भन्दै अब मुलुकको समृद्धिका लागि सरकार र जनता सबै मिलेर लाग्नुपर्ने बताए। मुलुकमा राजनीतिक स्थिरता आइसकेको र विद्युत्, सडकलगायतको विकास द्रुतगतिमा भइरहेको उल्लेख गर्दै उनले अब राष्ट्रियताको भावना बोकेर सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्ने बताए।

त्यसै गरी निर्धन उत्थान बैंकका सीईओ जनार्दन देव पन्तले बेरोजगारीका कारण मुलुकमा गरीबी बढेको उल्लेख गर्दै अब स्वरोजगारी सिर्जना गर्ने तथा उद्यमी बन्नेतर्फ लाग्नुपर्ने बताए। कम्तीमा एक घरमा एक जना उद्यमशीलतामा लाग्नु आवश्यक रहेको उनको भनाइ थियो। माइक्रोफाइनान्सहरूका कारणले थुप्रै महिला उद्यमी बनेको बताउँदै उनले अब युवाहरूको श्रम, सीप र जाँगरलाई व्यवसायमा रूपान्तरण गर्ने बेला आएको उल्लेख गरे।

कार्यक्रममा बोल्दै मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले जोस, जाँगर र आँट भए ठूलो पूँजीबिना पनि उद्यमशीलता हासिल गर्न सकिनेमा जोड दिए। प्रविधि, शिक्षा र पूँजीको अभाव भएका व्यक्तिहरूले समेत जोस र जाँगरबाट राम्रो आम्दानी गर्नुका साथै रोजगारी दिनेसम्मको हैसियत बनाएका उदाहरण दिँदै उनले पढेका र बुझेका युवाले चाहेमा मुलुकको आर्थिक समृद्धि टाढा नरहेको बताए।

प्रतिक्रिया दिनुहोस्