पेटभरि



‘कसलाई केको चिन्ता घरबूढीलाई खानकै चिन्ता’ भन्ने उखान अब परिवर्तन गर्ने बेला भएको छ। पहिले पहिले पो भान्छाको काम सबै महिलाले गर्थे। ठीक समयमा खाना तयार पार्नुपथ्र्यो। अनि सबै परिवारले खाना खाइसकेपछि भान्छेले खाने चलन थियो। पुगे भए पेटभरि नपुगे नभए डाडु पन्युँ चाटेर पनि पेट भर्ने बाध्यता थियो गाउँघरमा।

अब यो समस्याबाट छुटकारा मिल्ने भएको छ करिब ३ करोड नेपालीलाई। भोकैनाङ्गै बस्ने दिन अब सकिए। कोही नेपाली अब भोकै बस्नुपर्दैन भनेर जब हाम्रा प्रधानमन्त्रीले भन्नुभएको थियो।त्यसपछि के चाहियो र अचेलका केटाकेटीलाई। ए बाबु ⁄ यो काम गर न ल मैले भ्याएको छैन, काम सकिएन भने दाम आउँदैन, दाम आएन भने माम पाइँदैन, माम खान नपाए भोकै भइन्छ भनेर यसो केटाहरूलाई के भनेको मात्रै थिएँ सो अनि भन्न थालिहाले– ‘तपार्इं प्रधानमन्त्री हो र ?’ अनि आफू मुखमा बुझो लगाएर बस्नुपरेन। केको काम हुनु नि टाप कसिहाले केटाहरूले।

प्रधानमन्त्री महोदय अब यसै पनि भोको बस्न नपर्ने भएपछि बित्थामा केको दुःख गर्नु? म पनि आजदेखि काम गर्दिनँ। जति काम गरे पनि पेटभरि खान पुगेको हैन क्यारे। बरु अब विदेशमा हुने नेपालीहरू पनि मीठोमसिनो आफ्नै देशमा पेटभरि खान पाइन्छ भनेर स्वदेश फर्काए राम्रो हुन्थ्यो भन्ने धरहरालाई लागेको छ है !

प्रतिक्रिया दिनुहोस्