रुकुम पश्चिममा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ



धनवीर दाहाल, रुकुम ।

तिन बर्ष सम्ममा देशका सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा समेट्ने नेपाल सरकारको रणनिति अनुसार रुकुम पश्चिममा आइतबारबाट औपचारिक रुपमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । कैलाली जिल्लाबाट सुरु भएको यो कार्यक्रम नेपालको २९औं जिल्लाको रुपमा रुकुम पश्चिममा बिमितहरुको दर्ता सुभारम्भ गरिएको हो ।

तपाईको स्वास्थ्य हाम्रो अठोट भन्ने मुल नारा सहित संचालन भएको कार्यक्रमले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीवीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था समेत गरेको छ । जनप्रनिनिधिबाटै कार्यक्रमको शुभारम्भ गरी सेवा जनताको घरदैलोमा पुग्ने बिश्वास सरोकारवालाले गरेका छन् ।

जनप्रतिनिधिहरुको अगुवाईमा जुनसुकै काम पनि जनस्तरमा पुर्याउनुपर्ने कर्तव्य भएकोले स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन आफुहरुले अगुवाई गर्ने कर्णाली प्रदेशका सांसद गोपाल शर्माको भनाई छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन । तर, कस्मेटिक सर्जरी, व्यक्ति गत झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाइने छैन । यस्ता उपचारलाई बीमाले समेट्न नसक्ने स्पष्ट व्यवस्था छ । आर्थिक जोखिमलाई न्यूनिकरण गर्ने उदेश्यका साथ नेपाल सरकारले संचालित गरेको स्वास्थ्य बीमा कार्यक्रम रुकुम पश्चिममा पनि सुरु गरिएको हो ।

औपचारिक रुपमा स्वास्थ्य बीमा दर्ता कार्यक्रमको शुभारम्भ गरिएसंगै अब रुकुम पश्चिमका सबै नागरिकहरु स्वास्थ्य बीमा कार्यक्रममा लाभान्वित हुने भएका छन् । स्वास्थ्य बीमा कार्यक्रमको पहिलो दिन रुकुम पश्चिमबाट चार जनाले स्वास्थ्य बीमा कार्यक्रममा नाम दर्ता गरेका छन् । स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएसंगै जिल्लाका सबै स्थाीनय तहमा स्वास्थ्य बीमाको टोली पुग्ने र घरदैलो मार्फत स्वास्थ्य बीमा संकलन गर्ने बताईएको छ ।

आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य सेवा सुनिश्चत गर्नका लागि नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्