एक स्थान, तीन दावेदार



काठमाडौं, (नेस)
आईसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत समूह बी बाट जिम्बावे र स्कटल्यान्ड सुपर सिक्समा पुगेपछि बाँकी एक स्थानका लागि ३ दावेदार
उभिएका छन्।

ती ३ दावेदारीमा नेपाल, हङकङ र अफगानिस्तान छन्। शनिबार अफगानिस्तानसँग नेपाल ६ विकेटले हार्दा अर्को खेलमा जिम्बावेले हङकङलाई हराएको हो। जिम्बावे र स्कटल्यान्ड ६⁄६ अंकसहित सुपरसिक्समा पुग्यो भने समूहबाट ३ टोली सुपरसिक्समा जाने प्रावधान भएकाले एक रिक्त स्थान पूर्ति गर्नुपर्ने भएको छ। जसमा सोमबार नेपाल र हङकङले अन्तिम खेल खेल्नेछ। अफगानिस्तानले भने चारैवटा खेल खेलिसकेको छ।
नेपालले सुपरसिक्समा पुग्न हङकङलाई फराकिलो अन्तरले हराउनुपर्छ। ठूलो जित निकाल्न नसकेमा नेपालले जिते पनि अफगानिस्तानले तेस्रो टोलीको रूपमा सुपरसिक्सको यात्रा तय गर्नेछ। यदि हङकङ जितेमा भने नेपाल र अफगानिस्तानको यात्रा समूह चरणसम्म रहनेछ। नेपालले अहिलेसम्म अंक जोडेको छैन भने हङकङ र अफगानिस्तानले २⁄२ अंक जोडेका छन्।

हिजोको खेलमा नेपालले अफगानिस्तानलाई १ सय ९५ रनको लक्ष्य दिएको थियो। जुन लक्ष्यलाई अफगानिस्तानले ६८ बल बाँकी राखी ४ विकेटको क्षतिमा भेटाएको थियो। नेपालका बलरमा दीपेन्द्र सिंह ऐरीले २ तथा सन्दीप लामिछाने र करण केसीले एक–एक विकेट लिए। अघिल्ला २ खेलमा खेल्न नपाएका करणले रसिद खानको विकेट लिएर नेपाललाई पहिलो सफलता दिलाएका थिए। तर यसको फाइदा उठाउन भने नेपालले सकेन। राहमत शाहले ४६ रन, मोहमद नाबीले ३४ रन र नाजिबुल्लाह जादरान ५२ रनमा नटआउट हुँदा नेपालले अफगानिस्तानसँग हार्न बाध्य भयो।

यसअघि नेपाली ब्याटिङमा पारस खड्काले १० चौका र १ छक्काको सहयोगमा ७५ रन जोडेका थिए। पारसको यो प्रतियोगितामा दोस्रो अर्धसतक थियो। उनी १ सय ११ को स्कोरमा आउट भएपछि अन्य ब्याटसम्यान त्यति आक्रमक बन्न सकेनन्। पारस रहुन्जेल २ सय ५० रन कट्न सकिने स्थिति थियो। तर उनी आउट भएपछि यो संभावित स्कोर हरेक ओभरमा घट्दै गएर नेपाल १ सय ९४ रनमा अलआउट भएको थियो। नेपालका अन्य ब्याटसम्यानमा दीपेन्द्रले ३२ रन तथा ज्ञानेन्द्र मल्ल र आरिफ शेखले २३⁄२३ रन जोडेका थिए।

प्रतिक्रिया दिनुहोस्