आयोजक रूपन्देही ११ सेमिफाइनलमा



यमलाल भुसाल⁄बुटवल

बुटवलमा जारी २०औं तिलोत्तमा गोल्डकप नक आउट फुटबल प्रतियोगिताअन्र्तगत शनिबार भएको पहिलो क्वाटरफाइलन खेल जित्दै आयोजक लाली रूपन्देही ११ सेमिफाइनलमा प्रवेश गरेको छ।

देविनगरस्थित एन्फा एकेडेमीमा भएको रोमाञ्चक खेलमा नवलपरासी ११ लाई ३–१ गोल अन्तरले स्तब्ध पार्दै रूपन्देही अन्तिम चारमा पुगेको हो। टोलीका अशोक थापाले २३आं मिनेटमा नवलपरासीका डिफेन्सलाई छल्याउँदै आर्कषक गोल गरेका थिए। ६५औं मिनेटमा नवलपरासीका विदेशी खेलाडी कोलीले डिबक्स बाहिरबाट हानेको फ्रिकिकलाई गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भएका थिए। आशिष गुरुङले बेलमेक्सलाई लडाएपछि डिबक्स बाहिर पाएको फ्रिकिकलाई कोलीले गोल गर्दा रूपन्देहीका समर्थकहरू निराश भएका थिए।

तर रूपन्देही खेलमा पुनः फकर्दै २ गोल गर्न सफल भयो। ८३औं मिनेटमा स्ट्राईकर निशान लिम्बूलाई युवराज चापागाईंले डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई निशानले नै सदुपयोग गर्दै टोलीलाई २–१ ले अग्रतामा ल्याए। खेलको इन्जरी समयमा अशोक थापाले नवलपरासीका ३ डिफेन्डरलाई छल्याएर गोलकिपरलाई बिट गर्दै आकर्षक गोल गरेका थिए। रूपन्देहीका गौरव बुढाथोकी म्यान अफ दी म्याच घोषित हुँदै ११ हजार नगदबाट पुरस्कृत भएका थिए।

प्रतिक्रिया दिनुहोस्