आर्मी झापा गोल्डकपको फाइनलमा



उत्तम नेपाल⁄भद्रपुर

झापा गोल्डकपको फाइनलमा प्रवेश गरेसँगै त्रिभुवन आर्मी क्लबले उपाधिका लागि आयोजक टोली झापा ११ सँग खेल्ने तय गरेको छ। शनिबार दोस्रो सेमिफाइनल खेलमा मनाङक मस्र्याङदी क्लबलाई १–० गोलअन्तरले हराउँदै आर्मी दोस्रोपटक फाइनल पुग्यो। झापाको भने तेस्रो फाइनल हुनेछ। आर्मीको जितमा राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठको एकमात्र गोल निर्णायक बन्यो। नवयुगले खेल शुरु भएको दोस्रो मिनेटमै गरेको गोल नै आर्मीलाई फाइनल पुग्न पर्याप्त भएको थियो। नवयुगले पोस्टको दायाँ बार च्याप्दै गरेको बलले जाली चुमेको थियो। डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदीका लागि यस पटक सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो।

आर्मीले गोल हुने केही अवसर गुमाएको थियो। ४५औं मिनेटमा मनाङका सबै खेलाडी बिट भइसकेको अवस्थामा आर्मीका टंक बस्नेतले गोल गर्न सकेनन्। गोलकिपर दिनेश थापा मगरलाई क्रस गरेर प्रहार भएको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो। नवयुगले २ पटक मनाङका सबै खेलाडी अगाडि बढेको अवस्थामा पाएको अवसरसमेत खेर फालेका थिए।

यस्तै तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको मनाङका लागि १० मिनेटमा भिक्टोरले गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो। २४औं मिनेटमा सुजल श्रेष्ठले गरेको क्रसमा बिमल रानाले डि बक्सबाट फितलो प्रहार गर्न पुगे। ५९औं मिनेटमा विशाल राइको क्रसमा अञ्जन विष्टले गरेको हेडर आर्मीका गोलरक्षक बिकेश कुथुले पन्च गरेर बाहिर फ्याँकिदिएका थिए। कुथुले म्यान अफ द म्याच घोषित हुँदै नगद २५ हजार रूपियाँ पुरस्कार प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्