आफ्नो मृगौला आफैं बचाऔं



मार्च महिनाको दोस्रो बिहीबार मिर्गौला दिवस विश्वभर मनाइयो। एकातिर मिर्गौला रोगी बढ्दै जाने र अर्कोतिर उपचार खर्च पनि महँगो हुने भएकाले विश्वभर सचेतना जगाउन सन् २००६ देखि यो दिवस मनाइन थालेको हो। नेपालमा मिर्गौला दिवस मनाउने गरिए पनि कमै व्यक्ति मात्र मिर्गौला रोगबारे सचेत रहेको पाइन्छ। नेपालमा ३ लाख व्यक्तिमा केही न केही मिर्गौलाको समस्या रहेको चिकित्सकहरूको अनुमान छ। यस्तै, ३ लाख व्यक्तिको मिर्गौला बिग्रन थालिसकेको र ३० हजार व्यक्तिको मिर्गौला निको पार्न नसक्ने गरी बिग्रिसकेको अनुमान छ। जसमध्ये बर्सेेनि ३ हजार जनाको मिर्गौला बिग्रेर अन्तिम अवस्थामा पुग्ने गरेको र ९ सय जनाको अकालमा मृत्यु हुने अनुमान छ। मिर्गौला बिग्रेर अन्तिम अवस्थामा पुगेका बिरामीलाई बचाउन डाइलाइसिस वा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ। मिर्गौला प्रत्येक मानिसलाई स्वस्थ राख्न मद्दत गर्ने प्रमुख अंग हो। यस्तो महत्त्वपूर्ण भूमिका निभाउने अंग स्वस्थ राख्न हरेक व्यक्ति सचेत हुनै पर्छ।

यो रोग जुनसुकै उमेरका व्यक्ति र विभिन्न कारणले लाग्ने गर्दछ। अस्वस्थ जीवनशैली, रक्तचाप, मधुमेह, जथाभावीरूपमा कडा औषधि सेवनका कारणले मिर्गौला बिग्रने गर्दछ। शुरूमै कुनै लक्षण नदेखिने भएकाले बाहिरबाट स्वस्थ मानिएको व्यक्ति पनि स्वस्थ नहुन सक्छ। त्यसैले समय–समयमा मिर्गौला परीक्षण गराउनुपर्ने विज्ञहरूले सुझाव दिँदै आएका छन्।
नेपालमा पछिल्लो समयमा निःशुल्क स्वास्थ्य शिविरलगायत विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मिर्गौला रोगको निदान, उपचार र रोकथाम भइरहे पनि यसबारे गम्भीरतापूर्वक चासो लिनेको संख्या भने अझै पनि नगन्य नै छ। दुर्गम क्षेत्र मात्र होइन, सुगम ठाउँमा पनि मिर्गौला परीक्षण गर्ने प्रवृत्ति घट्दो छ। नेपालमा सर्वसाधारणको मिर्गौला परीक्षण गर्ने बानी नहुँदा धेरैलाई आफ्नो रोगको अवस्थाबारे जानकारी नै छैन। मिर्गौलासम्बन्धी रोग प्रायः उच्च रक्तचाप, मधुमेह, नेफ्राइस, दुर्घटना, पत्थरी, बढी मात्रामा औषधि सेवन जस्ता कारणले लाग्ने गर्छ।

शरीरका विभिन्न भाग सुन्निने, थकावट महसुस हुने, खान मन नलाग्ने, धेरै वाकवाकी लाग्ने, टाउको दुख्ने, पिसाब कम लाग्ने, शरीर चिलाउने, पिसाबमा रगत देखिने, फिँज आउने जस्ता समस्या पनि मिर्गौला रोगका लक्षण मानिन्छ। बढ्दो उमेरसँगै मिर्गौला रोगको खतरा पनि बढ्ने भएकाले सामान्य उपायद्वारा यो रोग न्यूनीकरण गर्न सकिने चिकित्सकहरूको सुझाव छ। त्यसका लागि सधैं मधुमेह नियन्त्रणमा राख्ने, उच्च रक्तचाप भएकाले नियमित जाँच गराउने, स्वस्थ र सन्तुलित खाना खाने, व्यायाम गर्ने, प्रशस्त पानी पिउने, धूमपान र सुर्ती सेवन नगर्ने, जथाभावी औषधिको प्रयोग नगर्ने जस्ता उपाय अवलम्बन गर्न सकिन्छ। स्वस्थ रहेमात्र जीवन रहन्छ भन्ने तथ्यलाई मनन गरी मिर्गौला रोगबारे सचेत बन्नु अत्यन्त जरूरी देखिन्छ।
– सुरज संग्रौला, चितवन

महिलालाई सीपयुक्त बनाउन जरुरी

महिलावर्गलाई सीपयुक्त बनाउनुपर्ने बहस सिर्जना भएको छ। सीपले मानिसलाई आत्मनिर्भर बनाउँछ भने मुलुकलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्छ। नेपालमा पछिल्लो समयमा सीप सिकेर स्वरोजगार बन्नेहरूमा महिलाको संख्या ह्वात्तै बढेको छ। राज्यले बेरोजगारलाई सीप सिकाएर स्वरोजगार बनाउने लक्ष्य लिएपछि नेपालमा स्वरोजगारको संख्या बढ्दै गएको हो। यसमा पनि महिलाको सहभागितालाई राज्यले महत्त्वका साथ अगाडि बढाएको छ। सबै क्षेत्रमा पछाडि पारिएका महिला सीपमा पनि पछाडि नै छन्। जसले गर्दा महिलावर्ग उत्पादन र आयमूलक काममा लाग्न सकेका छैनन्।

महिला–पुरुष दुवैले उत्पादन र आयमूलक कार्य नगर्ने हो भने मुलुकले समृद्धि प्राप्त गर्न सक्दैन। यही कुराको विश्लेषण गरेर राज्यले महिलालाई पनि सीप सिकाउने जमर्को गरिरहेको छ। महिलाले पनि विभिन्न आयमूलक सीप सिकेर स्वरोजगार बन्ने कार्यलाई प्राथमिकता दिएका छन्। घरभित्रै बसेर सहजै गर्न सकिने थुप्रै सीप महिलाले सिकिरहेका छन्। सीप सिकेपछि थुप्रै महिला र पुरुष विभिन्न आयमूलक कार्यमा लागेको हामीले देखेका छौं।

आर्थिक लाभमा महिलाको अग्रसरताले मुलुकको समृद्धिमा समेत धेरै हदसम्म लाभ गरेको छ। यही रफ्तारमा महिला र पुरुषवर्ग आयमूलक कार्यमा संलग्न हुने हो भने मुलुकले अबको केही वर्षमै आर्थिकरूपमा धेरै प्रगति गर्नेछ।

श्रमले नै मुलुकलाई समृद्ध बनाउने हो। अहिले पनि गरीखाने वर्गभन्दा बसीखाने वर्गको संख्या धेरै छ। गरीखाने वर्गको संख्यामा वृद्धि गर्न सकेमात्र मुलुकको अर्थतन्त्र सवल हुँदै जानेछ। यसका लागि नेपालमा जन्मने सबै नेपाली आयमूलक कार्यमा संलग्न हुने वातावरण निर्माण हुनुपर्छ। शिक्षा ग्रहण गरेपछि स्वतः कुनै न कुनै पेसा व्यवसाय वा जागिरमा लाग्न सक्ने परिपाटी हुनुपर्छ। सीपले मानिसको व्यक्तिगत जीवनमा धेरै लाभ गर्दछ। अहिलेको शिक्षाले मानिसलाई बेरोजगार बन्नुपर्ने बाध्यकारी अवस्था सिर्जना गरिरहेको छ। यस्तो अवस्थामा आयमूलक सीप नै त्यो कडी हो, जसले मानिसलाई खाली बस्नै दिँदैन।

आफू र आफ्नो परिवारको जीविकोपार्जन गर्न सहजरूपमा आर्थिक लाभ लिन सक्ने अवस्थाको सिर्जना सीपले गर्दछ। अहिले पनि समाजमा सीप सिकेका महिला⁄पुरुषको जीवन सहजरूपमा बितेको हामीले देखेका छौं। सीप सिकेको मानिसले केही न केही आय गरिरहेका हुन्छन्। जसले गर्दा उसलाई आर्थिक संकट पनि पर्दैन।

पछिल्लो समयमा सीपतर्फ महिला पुरुष सबैको आकर्षण बढेको छ। सिकेको सीपलाई सदुपयोग गर्ने सवालमा गम्भीरतापूर्वक इमानदारिता देखाउन सकेको खण्डमा लाभ प्राप्त गर्न सकिनेछ। श्रम र सीपले मात्र अब महिलालाई समाजको अगुवा वर्ग बन्नका लागि सहयोग गर्ने भएकाले श्रमिक महिला दिवस मनाइरहँदा सबै महिलालाई अनिवार्यरूपमा कुनै न कुनै सीपमा लाग्न सक्ने वातावरण निर्माण गर्नै पर्छ।

केन्द्रदेखि स्थानीय तहसम्म नयाँ सरकार बनेकाले अब महिलालाई कामकाजी बनाउनेतर्फ विशेष योजना ल्याउन जरुरी छ। सीपले एकातिर मुलुकको समृद्धिमा भूमिका खेल्छ, अर्कोतर्फ महिला हिंसा पनि कम गर्ने भएकाले मुलुकलाई समृद्ध, सभ्य बनाउने महान् अभियान सार्थक बनाउनका लागि पनि महिलावर्गलाई सीपयुक्त बनाउने सवालमा ध्यान दिनै पर्छ।
– सूचना चौधरी, कैलाली

प्रतिक्रिया दिनुहोस्