त्रिविको जग्गामा आँखा नलगाऊ



कीर्तिपुरस्थित त्रिविको जग्गामा विभिन्न संघ–संस्थाले आँखा लगाउनु कदापि राम्रो होइन । ५ सय २५ रोपनी जग्गा फिर्ता लिन त्रिवि असक्षम बनेको छ । त्रिविको ती जग्गा एक दर्जनभन्दा बढी निकायले भोगचलन गरिरहेका छन् । केही जग्गा त्रिवि आफैंले उपलब्ध गराएको छ भने केही जग्गा विभिन्न निकायले जबर्जस्तीरूपमा भोगचलन गर्दै आएका छन् । कतिपय जग्गा बाटोमा परेको छ भने कतिपय जग्गा स्थानीय कीर्तिपुरबासीले भोगचलन गर्दै आएका छन् ।

त्रिविको जग्गा भोगचलन गर्नेको फेहरिस्त लामै छ । महानगरीय प्रहरी वृत्त कालिमाटी, प्रहरी वृत्त कीर्तिपुर, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, वागवानी विकास केन्द्र, ल्याबरेटोरी स्कुल, आँखा केन्द्रको भवन, ब्लड बैंक, सत्संगलगायतले त्रिविको जग्गामा आफ्नो राजकाज चलाइरहेका छन्् । तीबाहेक बीपी प्लानेटोरियम, नेपाल बैंक लिमिटेडले कति जग्गा भोगचलन गरेको हो भन्ने तथ्यांक छैन । कहिलेसम्म यसरी अरूको जग्गा हडपेर भोगचलन गर्ने ? सम्बन्धित निकाय किन मौन छ ।

मुलुकको एक मात्र पुरानो तथा विश्वासिलो शिक्षण संस्था त्रिविको त यस्तो हालत छ भने अरूको के होला ?

त्रिविबाहेक अन्यको जग्गा पनि कति–कति कुन–कुन निकायले लिएका छन्, मिचेका छन्, चेपेका छन् यसको खोजी गर्ने बेला आएको छ । अझै वागवानी विकास केन्द्र, ल्याब स्कुल र सत्संगले जबर्जस्तीरूपमा भोगचलन गरिरहेका छन् । ल्याब र सत्संगले भोगचलन गरेको जग्गा पटक–पटक हटाउने प्रयास गर्दा पनि त्रिवि असफल भएको छ । त्रिवि परिसरमा रहेको जग्गा भोगचलन गर्ने निकायको संख्या बढेको छ । त्रिवि अब संरक्षण गर्छौं, संरक्षण गर्न शुरू गरिसकेका छौं भन्छ तर पनि उसको काम गराइ कतिको सफल हुने हो हेर्न बाँकी नै छ । त्रिवि र यसअन्तर्गत सञ्चालित सबै निकायले भोगचलन गरेको जग्गाको विवरण तयार गर्न जग्गा खोजविन कमिटी गठन गर्न लागेको छ ।

केयूकेएलले त्रिविको नाममा वक्यौता रहेको रकममध्ये ३ करोड मिनाहा गर्ने, त्रिवि परिसरमा खानेपानीको व्यवस्था गर्ने, कीर्तिपुरमा पानी व्यवस्थापनको लागि पाइप बिच्छ्याउनेलगायतको सर्त राखेर २४ रोपनी जग्गा लिएको त्रिविले जनाएको छ । त्रिविले गणतन्त्र स्तम्भ बनाउन सरकारले लिएको जग्गा तत्काल नदिने जनाएको छ । अघिल्लो पदाधिकारीहरूको कार्यकालमा सम्झौता भएको भनिए पनि सम्झौता गरेको कुनै प्रमाण नभएको त्रिविले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्