अन्तरक्लब महिला स्क्वाट सम्पन्न



नेपाल समाचारपत्र
काठमाडौं
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सानेपास्थित हेरिटेज गार्डेनमा पिरियड पावर तेस्रो अन्तरक्लब महिला स्क्वाट प्रतियोगिताको आयोजना भएको छ।

फाल्गुन २३ गतेदेखि प्रारम्भ भएको सो प्रतियोगिताको छनोट चरण सकाएर हिजो अन्तिम चरणको प्रतिस्पर्धाको आयोजना गरिएको थियो। पहिलो चरणबाट ६० केजीभन्दा कम तौलको विधामा १३ खेलाडी फाइनलमा प्रवेश गरेका थिए। यसैगरी ६० केजीभन्दा बढी तौलको विधामा २५ खेलाडी फाइनलमा प्रवेश गरेका थिए।

यसरी छनोट भएकामध्ये ६० केजीभन्दा कम तौलको विधामा नेहा बानु (१२० केजी), अरूणा बस्नेत (११५ केजी) र ज्योति थापा (१०० केजी) क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहे। ६० केजीभन्दा बढी तौलको विधामा सेलिना हाडा (१४० केजी), उमा महर्जन (१२५ केजी) र अञ्जना राई (१२२.५ केजी)ले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हात पारेका थिए।

निकै नै उत्साहपूर्ण सहभागिता रहेको यस कार्यक्रममा सबै विजेतालाई प्रमुख अतिथि सपना प्रधान मल्लद्वारा पुरस्कार वितरण गरिएको थियो। विजयी खेलाडीलाई दुई अलग विधामा ६ वटा पुरस्कार धनराशीको हिसाबले व्यवस्था गरिएको थियो। पहिलोलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार नगद प्रदान गरियो।

ज्यास्मिन फिट्नेस सेन्टर तथा आइडिया शप मिडिया एन्ड एन्टरटेनमेन्टद्वारा सहआयोजित यो कार्यक्रम आगामी वर्ष पनि अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी पूर्ण भव्यताका साथ आयोजना गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्