कांग्रेसमा रोइलो



संघीय संसद्को सभामुखमा उम्मेदवारी नदिएको नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिएको छ। यसो किन गरेको होला भनी धरहराको फेदतिर बस्नेहरू खासखुस गर्दै थिए। भर्खरै मात्र सत्ताबाट बाहिरिएको दललाई किन उपसभामुखमा लोभ लागेको होला?

कसैले उम्मेदवारी नदिएपछि कृष्णबहादुर महरा सभामुखमा छानिए। उपसभामुखमा चाहिँ कांगे्रसले आस गर्नुको छुट्टै कारण रहेछ। सभामुख सरकार पक्षको भए उपसभामुख विपक्षीको हुनुपर्ने र सभामुख पुरुष भए उपसभामुख महिला वा सभामुख महिला भए उपसभामुख पुरुष हुनुपर्ने प्रावधानले गर्दा नेपाली कांग्रेसले झीनो आसमा रोइलो काढेको धरहरालाई लागेको छ। जात फाल्नु गहतको झेलमा भनेझैं ला खा भनेर दिए लिए भइहाल्यो होइन भने किन आवश्यक पर्यो। उपसभामुख नभए पनि कांग्रेसलाई के नै फरक पर्ने हो र। खासै रोल पनि धेरै हुन्न क्यारे।

स्थानीय निर्वाचनको मात लागेर होला प्रतिनिधिसभा तथा प्रदेशसभामा कम स्थान प्राप्त गरेको। नमातेको भए अहिले डाडुपन्युँ नै आफ्नो हातमा आउँथ्यो नि। त्यसैले यो बिलोमा कांग्रेसले रोइलो काढ्नु धरहराले उचित देखेन। आगे यहाँको मर्जी।

प्रतिक्रिया दिनुहोस्