भैरेको गीतमा वर्षा र बुद्धिको कम्मर मर्काइ



एभरेस्ट सूर्य बोहराको निर्देशन र लेखनमा बनेको फिल्म भैरेको पहिलो गीत सार्वजनिक गरिएको छ। सान्नानीलाई भेट्न आउँदा बोलको उक्त रमाइलो गीतको भिडियो शुक्रबार राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो।

वसन्त सापकोटाको शब्द र संगीत रहेको उक्त गीतमा संगीतकार सापकोटाका साथमा यम बराल र मेलिना राईको स्वर रहेको छ। वर्षा सिवाकोटी, विक्रान्त बस्नेत र हाँस्य कलाकार बुद्धि तामाङको आकर्षक नृत्य रहेको गीतको भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन कमाल लाग्छ। कविराजले दर्जनौं कोरस कलाकारलाई राखेर यसलाई भिन्न प्रकारले पर्दामा उतारेका छन्। छायाँकार पुरुषोत्तम प्रधानले पनि अत्याधुनिक प्रविधिको सहयोग लिएर भिडियोलाई उत्कृष्ट रूप दिएका छन्।

कार्यक्रममा निर्देशक बोहराले फिल्म तयार अवस्थामा पुग्न लागेको जानकारी गराउँदै कुराभन्दा पनि काम गरेर देखाउने बताए। ‘शुरूदेखि नै फिल्मको बारेमा केही नबोल्ने भनेका छौं। एउटा सर्जकले गर्ने मेहनत हामीले गरेका छौं। यस कारण फिल्म, हाम्रो काम र फिल्म आफैं बोल्छ भनेर हामीले शुरूदेखि नै यसको बारेमा केही नबोल्ने वाचा गरेका हौं’, बोहराले भने– ‘यो गीतको भिडियो सार्वजनिक भइसकेको छ। मूल्यांकन गर्ने जिम्मा दर्शकको हो। फिल्मको सुटिङ जोमसोमदेखि काठमाडौंसम्मका विभिन्न आठ जिल्लामा गरेका छौं। चिसो याममा हिमालमा बसेर काम गर्दा जति कठिन भएको थियो, त्यो रोमाञ्चकताको महसुस गरिहेको छु। यसको परिणामको पर्खाइमा।’

नायिका वर्षा शिवाकोटीले फिल्म र सार्वजनिक गीत आफूहरूका लागि पनि बहुप्रतिक्षित भएको बताइन्। ‘यो भिडियो हाम्रा लागि पनि बहुप्रतिक्षित थियो। यो गीत हाम्रा लागि इनर्जी हो। पोखरामा यो गीतको सुटिङ चलिरहेको बेला सुटिङस्थलनजिकै एउटा घोडा दलदलमा फसिरहेको थियो। हामी सम्पूर्ण टिम लागेर त्यो घोडालाई बिहानदेखि बेलुकासम्म लगाएर उद्धार गरेका थियौं। मलाई लाग्छ फिल्मलाई त्यो घोडाको पनि आशीर्वाद लाग्छ होला’ –उनले स्मरण गरिन्। अर्की नायिका सुरक्षा पन्तले यो गीत आफूलाई निकै मन परेको र सुटिङबाट फुर्सद पाएको बेला कोठामा यही गीतमा नाचेर रमाइलो गर्ने गरेको सुनाइन्। हाँस्य कलाकार बुद्धि तामाङले आफूलाई नृत्य गर्न अप्ठेरो लाग्ने भए पनि यो गीतमा नायिका वर्षसँग नाच्दा निकै रमाइलो भएको बताए। ‘मलाई नाच्न भनेपछि सार्है अप्ठेरो लाग्छ। गीतको भिडियो हेरेपछि लाज लाग्यो’ –उनले भने।

संगीतकार वसन्त सापकोटाले आफूले वर्षौंअघि लेखेको गीत भैरेका लागि दिएको बताए। संगीतकार महेश खड्काले संगीतकारहरू सधैं पर्दापछाडि हुने गरेकाले अब पर्दाअगाडि आएर गाउनुपर्ने बताए। ‘यो गीतमा वसन्त दाइको स्वर एकदम राम्रो छ। गीतअनुसार छायांकन पनि राम्रो भएको छ’ –उनले भने।

कुल ३ गीत रहेको फिल्मका अन्य गीत एम बराल, प्रमोद खरेल र अञ्जु पन्तले गाएका छन् भने एउटा गीतमा एम बराल र अर्को गीत अर्जुन पोखरेलले संगीत दिएका छन्। ती गीतको नृत्य निर्देशन वसन्त श्रेष्ठ र रामजी लामिछानेले गरेका छन्।

नेपालय सिनेमा इन्टरनेसनलद्वारा निर्मित फिल्मको निर्माता प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी कार्यकारी निर्माता लेखबहादुर पुन तथा सहनिर्माता करुणाकर घिमिरे, सविता गुरुङ र कुमार बस्नेत हुन्। फिल्ममा वर्षा, विक्रान्त र बुद्धिका साथमा दयाहाङ राई, सुरक्षा पन्त, सुनिल थापा, जान्हवी बोहरा, जयनन्द लामा, सुरवीर पण्डित, सविता गुरुङ, अर्जुन गुरुङ, अनुभव रेग्मी, सुमेश श्रेष्ठ, अंकित पौडेल, सयाहाङ राईलगायतले अभिनय गरेका छन्। फिल्ममा छायांकन पुरुषोत्तम प्रधान, द्वन्द्व सूर्य थोकर। सम्पादन बनिश शाहको रहेको छ।

प्रतिक्रिया दिनुहोस्