शान–अवसानमा लहरिँदा



रामसुन्दर देउजा
साहित्यका विविध विधाहरूमध्ये एक विधा हो महाकाव्य। त्यसो त रचनाशिल्पको दृष्टिले सबैभन्दा जटिल विधा पनि हो यो। संस्कृत साहित्यमा महाकाव्यको स्वरूपका बारेमा आचार्य भामहले सर्वप्रथम चर्चा गरेका हुन्। उनले महाकाव्यमा वस्तुगठन, सर्गबद्धता र पञ्चसन्धिको निर्वाह हुनुपर्छ भनेका छन्। उनको कथन महाकाव्यमा दूतसन्देश, यात्रा, युद्ध आदिको वर्णन पनि हुनुपर्छ भन्ने रहेको छ। नायकका लागि महान् व्यक्तिको चरित्र र महान् कार्यको प्रस्तुति हुनु आवश्यक रहेको छ र साथै नायकको अभ्युदय र विजयको वर्णन पनि हुनुपर्छ। कलापक्षमा शिष्ट पदविन्यास र अलङ्कारयोजना हुनुपर्छ भन्ने उनको कथन छ।

आचार्य दण्डीको भनाइमा महाकाव्यमा कथावस्तु, नायक, रस चतुर्वर्गमध्ये एउटाको प्रयोग, छन्द, योजना र सर्गबद्धता हुनुपर्छ भन्ने रहेको छ। महाकाव्यको प्रारम्भ मङ्गलाचरणअन्तर्गत आशीर्वादात्मक, नमस्कारात्मक र वस्तुनिर्देशात्मक हुनुपर्छ भन्ने उनको भनाइ रहेको छ। सर्गबद्धताका क्रममा सर्ग ज्यादै ठूलो हुनुहुँदैन र उदात्त गुणले युक्त नायकको कल्पना गरेका छन् उनले। गठनको सन्दर्भमा नाटकीय सन्धिले युक्त शृङ्खलाबद्ध कथावस्तुको पक्षमा आफ्नो विचार व्यक्त गरेका छन् भने रसका लागि उनले विप्रलम्भ शृङ्गारलाई महत्व दिएका छन्। धर्म, अर्थ, काम र मोक्षमध्ये एउटाको प्रतिपादन हुनुपर्छ भन्ने उनको भनाइ रहेको छ।

नेपाली साहित्यमा पनि धेरै महाकाव्यहरू लेखिएका छन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि थुप्रै महाकाव्य लेखेर नेपाली साहित्यमा शिखर युगपुरुष बनेका हुन्। उनका शाकुन्तला र सुलोचना सर्वाधिक रुचाइएका महाकाव्य कृति हुन्। यसै क्रममा बालकृष्ण समको चिसो चुल्हो पनि चर्चित रहेको छ। थुप्रै साहित्यकारहरूले महाकाव्य लेखनमा आफ्नो कलमलाई तिखार्दै आइरहेकोमा पाँचथर जिल्लाका मौवाडाँडा निवासी यादवप्रसाद अधिकारीले पनि आफूलाई झाँक्रीखोलेको साहित्यिक उपनामबाट शान–अवसान नामक महाकाव्य कृति प्रकाशित गरेका छन्।
चौध वर्षको उमेरमै ‘चेतावनी’ शीर्षकको कविता प्रकाशित गरी साहित्यिक फाँटमा हामफालेका उनको नौवटा कृतिहरू प्रकाशित भइसकेका छन्। उनले देशको चिन्ता गरेका छन्। दुःखी र गरिब जनताको आवाज उठाएका छन् यस शान–अवसान महाकाव्यमा–
बाँचुन्जेल रमाउने घरभिटा टुक्रा नपाइकन
यौटा बास पुगेन वान्धवसँगै चुत्थो भयो जीवन।
के यस्तो अपमान नागरिकले खप्नु कुनै न्याय हो ?
आफ्नो देश जहाँ विनाघर हुनू यो घोर अन्याय हो।
नेपालमा परापूर्वकालदेखि रहिआएको सामन्ती व्यवस्था र भन्नलाई प्रजातन्त्रवादी भन्ने तर मनोमानी ढंगबाट शासनसत्ता चलाउने शासकवर्गप्रति कटाक्ष गर्दै उनी बम्किन पुग्छन्–
सुताए थाङ्नामा तरल मनका नागरिक जो
भिजेको थाङ्नामा त्रिशतक डुबेरै दिन गयो।
पिसाबी तातोमा सब हिउँद बित्छन् उँघिरहे
गनाएको थाङ्नो शिशिर सदियौं नै सुँघिरहे।
उनले यस महाकाव्यको रचनास्रोत आफ्नो देश र अधिकांश नागरिकहरूको विश्व दृष्टिकोणमाथि भयङ्कर आघात र प्रतिघातले जन्माएको अस्थिरता, अन्योल तथा दीर्घकालीन सङ्कटमोचन नहुँदाको भद्रगोल अवस्थालाई महाकाव्यको भावभूमिको रूपमा लिएका छन्। यो देश मेरो हो र हाम्रो हो। यहाँ आपसी सद्भाव र विश्वास रहिरहनुपर्छ। मन स्वच्छ हुनुपर्छ भन्ने भाव प्रकट गर्दै उनी कुर्लिन्छन््–
चुस्नै हुन्न समाज राष्ट्र कहिले नेपाल भन्ने भए
नाता बिर्सनुहुन्न नागरिक यी आफन्त ठान्ने भए।
टाढा हुन्न पहाड–पर्वत कतै यी गाउँ चिन्ने भए
पग्लेको हिउँ दूध हो हृदयमा गङ्गा बगेकी भए।
कवि अधिकारीका कविता पाठकलाई जुरुक–जुरुक उचाल्ले किसिमका छन्। उनका कविता कसैले वाचन गरेर सुनाइदिने हो भने पनि श्रोताका कान ठाडा–ठाडा हुने गर्छन्। भनौं–भनौं, सुनौं–सुनौं लाग्ने भएकाले यो काव्यमा सबैको आकर्षण बढ्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्