ट्रम्पद्वारा उत्तर कोरियाली नेता किमको वार्ता प्रस्ताव स्वीकार मेमा दुई नेताबीच वार्ता हुने



वासिङ्टन, (एजेन्सी)
अन्ततः युद्धको संघारमा पुगेका अमेरिका र उत्तर कोरियाका नेताहरूबीच वार्ता हुने भएको छ। उत्तर कोरियाली नेता किम जोङले वार्ताका लागि पठाएको प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकार गरेका छन्। राष्ट्रपति ट्रम्पले आफू उत्तर कोरियाली नेता किमसँगको वार्ताका लागि तयार रहेको घोषणा गरिसकेको छन्।

एक अर्कालाई ध्वस्त पार्ने टिक्काटिप्पणी सँगै व्यक्तिगत गालीगलौचमा समेत उत्रिसकेका दुई नेताबीचको वार्तालाई लिएर विश्वकै ध्यान तानेको छ। लामो समयदेखि ट्रम्पले किमलाई ‘लिटिल रकेटम्यान’ को संज्ञाले सम्बोधन गर्दै आइरहेका छन् भने किमले पनि पनि ट्रम्पलाई ‘खाक्रो बूढा’ भनेका थिए।

दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु योङले ह्वाइट हाउसमा आगामी मेमा ट्रम्प र किम जोङबीच वार्ता हुने जानकारी दिएका हुन्।

चुङले उत्तर कोरियाली नेता किमले भविष्यमा परमाणु बम र क्षेप्यास्त्र परीक्षण नगर्ने आश्वासन पनि दिएको जानकारी दिए। यो घोषणा दक्षिण कोरियाली प्रतिनिधिमण्डलले यसै हप्ता उत्तर कोरियाका नेतासँग गरेको भेटवार्तापछि आएको हो।

पत्रकार सम्मेलनमा दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले भने– ‘हामीले राष्टपति ट्रम्पलाई भेटका क्रममा किम जोङले परमाणु निरस्त्रीकरणका लागि प्रतिबद्ध रहेको बताएको जानकारी दिएका थियौं।’ राष्ट्रपति ट्रम्पले उक्त जानकारीको जवाफमा उनले मेसम्ममा किम जोङ उनसँग भेटेर स्थायी परमाणु निरस्त्रीकरण हासिल गर्न चाहेको बताए। दक्षिण कोरियाली सल्लाहकारले भने– ‘राष्ट्रपति ट्रम्पले उक्त घोषणको प्रशंसा गरेको र निरस्त्रीकरणका लागि मेसम्ममा किम जोङ उनीसँग भेटघाट गर्ने बताएका थिए।

अहिलेसम्म उत्तर कोरियासँगको वार्तालाई अर्थहीन संज्ञा दिँदै आइरहेका अमेरिकी राष्ट्रपति ट्रम्पले किम जोङ उनको वार्ताको प्रस्तावलाई स्वागत गरेका छन्। तर उनले कुनै स्थायी सम्झौता नभएसम्म उत्तर कोरियामाथि लगाइएका प्रतिबन्धहरू जारी रहने दोहोर्याएका छन्।

ट्रम्पले ट्विटमा भनेका छन्– ‘किम जोङ उनले परमाणु कार्यक्रम रोक्नका लागि मात्र होइन, निरस्त्रीकरणका बारेमा पनि कुरा गरेका छन्। साथै यस अवधिमा उत्तर कोरियाले कुनै क्षेप्यास्त्र परीक्षण पनि गर्ने छैन। राम्रो प्रगति भएको छ, तर प्रतिबन्ध तबसम्म जारी रहनेछ, जबसम्म कुनै स्थायी सम्झौता हुँदैन। भेटघाटको योजना छ।’
मानवअधिकार उल्लंघनका गम्भीर आरोपका कारण दशकौंदेखि उत्तर कोरिया अन्तर्राष्ट्रियस्तरमा अलग भइरहेको छ। परमाणु कार्यक्रमलाई लिएर संयुक्त राष्ट्र सुरक्षा परिषद्ले उसमाथि कडा प्रतिबन्ध लगाएको छ।

हालैको घोषणाले किन महत्त्व राख्दछ भने अहिलेसम्म कुर्सीमै रहेर अमेरिकाका कुनै पनि राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटेका छैनन्। क्षेप्यास्त्र तथा परमाणु परीक्षण रोक्ने संकेत दिएको भए पनि उत्तर कोरियाले अहिलेसम्म परमाणु कार्यक्रम नै छोड्ने कुरा गरेको छैन। यस घोषणालाई उत्तर कोरियाली नेताले प्रोपागान्डाको जितका रूपमा लिन सक्ने र ट्रम्प आफैंले पनि यसलाई आफू विजयी भएको रूपमा लिन सक्ने विश्लेषकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्