बक्यौता तिर्न एयर एसियाले थप समय माग्यो



काठमाडौं, (नेस)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मलेसियाको निजी हवाई सेवा प्रदायक कम्पनी एयर एसिया एक्सको काठमाडौं उडान तथा अवतरणमा रोक लगाउने अल्टिमेटमको समय सीमा थप गरी आगामी चैत्र २ गतेसम्म पुर्याएको छ।

एयर एसिया एक्सका प्रमुख कार्यकारी अधिकृत वेन्जामिन स्माईलले त्रिभुवन विमानस्थलका प्रमुख रामकुमार क्षेत्रीलाई नै औपचारिक पत्र पठाएर केही दिन थप समय दिन आग्रह गरेपछि विमानस्थलले समय सिमा थप गरेको हो।‘एयर एसियाका प्रमुख कार्यकारी अधिकृतले हामी रकम भुक्तानीको लागि आन्तरिक तयारी गरिरहेका छौं यसको लागि १६ तारिखसम्म्को समय माग गरेर अनुरोधपत्र पठाएको छ।’ विमानस्थल प्रमुख क्षेत्रीले भन्नुभयो–‘हाम्रो आन्तरिक छलफलले सो समयभित्र रकम नबुझाए हामी कम्पनीको उडान अवतरण बन्द गर्ने छौ,ं माग गरिएको समय दिएको छ।’

विमानस्थलको सेवा प्रयोग गरेवापत शुल्क नतिरेपछि उक्त एयरलाइन्सको सेवा पटक–पटक बन्द गर्न चेतावनी गरे पनि एयरलाइन्सले समय माग गर्दै आएपछि समय समिा सार्दै आएको छ। विमानस्थलले फागुन २८ बाट नै एयरलाइन्सको उडान अवतरणमा रोक लगाउने तयारी गरेको भए पनि एयरलाइन्सले समय माग गर्दै आएको छ।

विमानस्थलले बन्द गर्न जानकारीसहितको पत्र एयरलाइन्सको मलेसियास्थित मुख्य कार्यालयमा पठाएपछि कम्पनीका प्रतिनिधि गत सोमबार नेपाल आएका थिए। दुई पक्षबीचको छलफलपछि एयरलाइन्सले समयमानै रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएका थिए।

विमानस्थलका प्रमुख महाप्रबन्धक क्षेत्रीलेका अनुसार गत सोमबार एयरलाइन्सका प्रतिनिधि आएर छलफल गरी आगामी जुलाईसम्म विमानस्थलको बाँकी बक्यौता चुक्ता गर्ने प्रतिबद्धता जनाएको थियो।
एयरलाइन्सले शुक्रबारसम्म २५ करोड रुपियाँबराबरको बैंक ग्यारेन्टी बुझाउने लिखित प्रतिबद्धता गरेको थियो। मलेसियाबाट काठमाडौं र काठमाडौंबाट मलेसिया सिधा उडान गर्दै आएको उक्त एयरलाइन्सले अवतरण शुल्क, पार्किङ शुल्क, विमानस्थल विकास शुल्क, कोठा भाडालगायतको करिब ३ वर्षयताको २७ करोड रुपियाँ बक्यौता र १३ करोड जरिवानासहित कुल ४० करोड रुपियाँभन्दा धेरै रकम तिर्नु बाँकी रहेको महाप्रबन्धक क्षेत्रीले बताउनुभयो।

एयरलाइन्सको टोली मंगलबार नै बक्यौताको सबै विवरण लिएर फर्किएको थियो।‘हामी आशावादी छौं, तोकिएको समय सीमाभित्र कम्पनीको बक्यौता रकम भुक्तानी गर्छ नभए हामी कानुन अनुसार अगाडि बढ्छौं,’ क्षेत्रीले भन्नुभयो। एयर एसिया एक्सले काठमाडौंमा हप्तामा ४ वटा उडान भर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्