पश्चिम सेतीको विवाद टुंग्याउन समिति



नेपाल समाचारपत्र
काठमाडौं
पश्चिम सेती जलविद्युत् आयोजनाको समस्या समाधान गर्न लगानी बोर्डले प्राविधिक समिति गठन गरेको छ। बोर्डको शुक्रबार बसेको २९औं बैठकले उक्त समिति गठन गरेको हो।

नेपाल विद्युत प्राधिकरण र चिनियाँ कम्पनी थ्री गर्जेजबीच ७ सय ५० मेगावाट क्षमताको सो आयोजना निर्माण गर्ने विषयमा सम्झौता भए पनि काम अगाडि बढ्नुको साटो विवाद बढेपछि आयोजनाको काम अगाडि बढाउन उक्त समिति बनाइएको हो। समितिको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत भौतिक पूर्वाधार हेर्ने सचिवले गर्नेछन्।

यस्तै समितिमा लगानी बोर्ड, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधि रहनेछन्। कुल १ खर्ब ६० अर्ब लगानी हुने उक्त आयोजनामा एक खर्ब रुपियाँ चिनियाँ लगानी हुनेछ भने बाँकी प्राधिकरण र स्थानीयबासीले लगानी गर्नेछन्।पछिल्लोपटक चिनियाँ कम्पनीले उक्त आयोजना व्यावसायिकरूपमा सबल नभएको दाबी गर्दै विद्युत् खरिद सम्झौतामा पुनरालोकन गर्न दबाब दिँदै आएको छ। समितिले यस विषयमा पनि अध्ययन गर्ने बताइएको छ।

त्यस्तै बोर्डले अरूण तेस्रो जलविद्युत् आयोजनाको उत्पादन अनुमति पत्र प्रदान गर्न ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय पनि गरेको छ। भारतीय कम्पनी सतलज जलविद्युत् विकास निगमले अघि बढाउन लागेको उक्त सोही कम्पनीलाई अनुमति दिने कि नयाँ कम्पनी खोजी भएको हो त्यो खुल्न सकेको छैन।

बोर्डले विदेशी लगानीकर्ताले तत्काल लगानी गर्न सक्ने १० वटा आयोजनाको सम्भाव्यता गर्ने भएको छ। जसअन्तर्गत बोर्डले कृषि, वित्त, शिक्षा, ऊर्जा तथा स्वास्थ्य क्षेत्रका आयोजनाको सम्भाव्यता गर्नेछ।

शुक्रबार बसेको लगानी बोर्डको बैठकले उद्योग, उत्पादन, सेवा, यातायात, जलविद्युत्, सौर्य ऊर्जाको विकासका लागि ८ वटा परियोजना अध्ययन गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्