उपचारमा लापरबाही नगर्नुस्ः प्रम ओली



नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले मानव स्वास्थ्य उपचारमा लापरबाही नगर्न चिकित्सकहरूलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री ओलीले उपचारमा हुने सानो गल्तीले मानिसको ज्यान जाने भएकोले यो विधामा दक्ष भएर मात्र प्रवेश गर्न चिकित्सकहरूलाई सुझाव दिनुभएको छ।

वीर अस्पतालको सर्जिकल भवनको शुक्रबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘दाँया र बाँया घुँडो नचिन्ने, एउटा बेडको बिरामीको अप्रेसन गर्नुपर्ने अर्कै बेडको बिरामीको अप्रेसन गर्ने डाक्टर छन् भन्ने सुनेको छु। के पढेर आएका डाक्टरहरूले यसो गर्छन्। त्यस कारण चिकित्सा शिक्षालाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्दछ।’ यसले चिकित्सा शिक्षाको गुाण्स्तरीयतामा प्रश्न उब्जाएको प्रधानमन्त्री ओलीले बताउनुभयो।

सरकारी अस्पतालको गुणस्तरीयतामा जनस्तरबाट प्रश्न उठ्ने गरेकाले यसलाई अन्त्य गर्न ऐतिहासिक वीर अस्पताल अघि सर्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो।

प्रधानमन्त्री ओलीले विषादीयुक्त खाद्यपदार्थ मानव स्वास्थ्यका लागि समस्या भएको उल्लेख गर्दै भन्नुभएको छ ‘नेपालजस्तो स्वस्थ्य हावापानी भएको देशमा विषादीको प्रयोगले गम्भिर स्वास्थ्य असन्तुलन सृजना गरेको छ। यसलाई न्यून गर्न सबैको प्रयास जरुरी छ।’

प्रधानमन्त्री ओलीले विगतमा जस्तो अब शिलान्यास गर्ने तर काम नहुने छुट नभएको बताउनुभयो। ‘मैले सुनेको छु एउटै पुलको शिलान्यास ११ पटकसम्म भएको छ रे’ प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘अब कुनै पनि योजनाको शिलान्यास एकपटक हुन्छ। तोकिएको समयमा सम्पन्न हुन्छ र उद््घाटन हुन्छ।’

कुनै पनि योजना तोकिएको समयमा नसकिए त्यसको स्पष्ट कारण खोजिने प्रधानमन्त्री ओलीले बताउनुभएको छ। ‘अबको नेपालमा छलछाम गर्ने, आलटाल गर्ने गुणस्तर घटाउने मौका हुँदैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘सबै कामको अनुगमन हुन्छ। अनुगमन गर्ने निकायमाथि थप अनुगमन पनि हुन्छ। त्यस कारण सबैले आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गरौं।’

प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई पनि नछोड्ने चेतावनी दिनुभएको छ। ‘अब कडा कदम नचाली देश बन्दैन।’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘सबैले आफ्नो कर्तव्यअनुसार काम गरौं। देश बनाउने अभियानमा आफ्नो–आफ्नो क्षेत्रबाट सबैले योगदान गरौं।’
अढाइ वर्षभित्र सम्पन्न हुने गरी २ अर्ब ८५ करोड रूपियाँ लागतमा वीर अस्पताल सजिर्कल भवन निर्माण हुन लागेको हो। भवनमा ६५० शैया रहनेछन्।

प्रतिक्रिया दिनुहोस्