महासंघमा प्रधानको दोस्रो इनिङ शुरू



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला⁄नगर उपाध्यक्ष पदको निर्वाचनमा किशोरकुमार प्रधान विजयी हुनु भएको छ। प्रतिस्पर्धी निरक केसीलाई दोब्बर मतअन्तरले पराजित गरेसँगै प्रधानको दोस्रो इनिङ शुरू भएको छ।

नवनिर्वाचित उपाध्यक्ष प्रधान महासंघमा यसअघिको कार्यसमिति (वि.सं २०७०⁄७३) को कार्यकालमा जिल्ला⁄नगर उपाध्यक्ष हुनुहुन्थ्यो।शुक्रबार भएको निर्वाचनमा किशोर प्रधानले ६५ मत ल्याउनु भएको थियो भने निरक केसीले ३३ मत प्राप्त गर्नुभयो। कुल १ सय ४ जना मतदाता रहेकोमा ९८ मत खसेको थियो। ११ महिना अगाडि भएको महासंघको ५१ औं साधारणसभाको निवार्चनमा प्रधान वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छासँग पराजित हुनुभएको थियो। यसअघि तत्कालीन उद्योग वाणिज्य महासंघको जिल्ला नगरका उपाध्यक्ष रहेका प्रमोद श्रेष्ठले बेनी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएसँगै श्रेष्ठलाई कार्यसमितिले निलम्बन गरेको थियो।

उद्योग वाणिज्य महासंघको विधान २०४९ ( छैठौं संशोधन को दफा ४६ को ३ को दफाको (छ) मा सक्रिय रुपमा राजनीतिक लागेमा पद रिक्त हुने उल्लेख छ। विधानअनुसार श्रेष्ठ निलम्बनमा परेपछि जिल्ला नगरको उपाध्यक्षको पद खाली थियो।महासंघले गत भदौ १९ मा नै निवार्चन गर्न मिति तोकेको थियो। तर, श्रेष्ठले आफूलाई पदबाट गैरकानुनी रुपमा निलम्वन गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सर्वोच्चले उक्त मुद्दा बुधबार खारेज गरेपछि उपाध्यक्ष निवार्चनको बाटो खुलेको थियो।

नवनिर्वाचित उपाध्यक्ष प्रधानलाई महासंघ अध्यक्ष भवानी राणाले शुक्रबार नै पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ। सपथ ग्रहणपछि महासंघ अध्यक्ष राणाले महासंघको वर्तमान पदाधिकारी समितिले पूर्णता पाएको र अब मुलुकको आर्थिक विकासमा पूरा समय आफ्नो टिम लाग्ने प्रतिबद्धता जनाउनु भयो। निजी क्षेत्रका अगाडि निकै चुनौती रहेको विद्यमान अवस्थामा महासंघले सशक्त भूमिका निर्वाह गर्ने विश्वाससमेत अध्यक्ष राणाले प्रकट गर्नुभयो।

सपथ ग्रहणपश्चात् नवनिर्वाचित उपाध्यक्ष प्रधानले महासंघमा आफ्नो लामो अनुभव र उद्योग व्यवसायलाई समेत आफूले नजिकबाट बुझेकाले आफ्नो कार्यकालमा महासंघलाई अझ सशक्त ढंगबाट अगाडि बढाउन आफूले पूरा समय दिने बताउनुभयो। उहाँले अब महासंघका जिल्ला⁄नगर उद्योग वाणिज्य संघहरू र प्रदेश उद्योग वाणिज्य महासंघलाई मुलुक नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा सोही अनुसार अगाडि बढाउने धारणासमेत राख्नुभयो।

प्रतिक्रिया दिनुहोस्