वासिङ्टन । पछिल्लो समयमा अणुअस्त्रको जथाभावी परीक्षण र दक्षिण कोरियासँगको सत्रुताका कारण निकै विवादमा रहेको उत्तर कोरिया संयुक्तराज्य अमेरिकासँग पनि शान्तिवार्ता लागि इच्छुक रहेको पाइएको छ । उत्तर कोरियाली नेता किम जङ उनको सो इच्छा अनुरुप नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उत्तर कोरियाका नेतासँग भेटवार्ता गर्न सहमत भएको खुलेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाका नेता उनसँग भेट्न तयार भएको समाचार बिहीबार अमेरिकाबाट आएको छ । उत्तर कोरियाली नेता उनको आग्रहमा राष्ट्रपति ट्रम्प उहाँलाई भेट्न तयार भएको दक्षिण कोरियाली राष्ट्रपतिका एकजना दूतले जानकारी दिएका छन् ।
अमेरिकी र उत्तर कोरियाली नेताहरुसँग भेटवार्ता गरेका दक्षिण कोरियाली राष्ट्रपतिका विशेषदूतले बिहीबार सो जानकारी दिएका हुन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ र अर्का एकजना दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुख बिहीबार अमेरिका गएका थिए ।
उनीहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीहरुका साथै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी हालैको प्योङयाङ भ्रमणका बारेमा जानकारी गराएको बताइएको छ । उनीहरुले उत्तर कोरियाली नेता किमको तर्फबाट पनि अमेरिकी राष्ट्रपतिलाई उनको पत्र लगिदिएको थियो । सो पत्रमा वार्ताका लागि नेता किमले आग्रह गरेका थिए ।
उक्त पत्र प्राप्तगरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग आफू वार्ताका लागि तयार रहेको बताउनुभएको पनि विशेषदूत चुङले वासिङ्टनमा जानकारी दिएको समाचारमा जनाइएको छ । किमले थप पारमाणविक कार्यक्रमहरु तथा क्षेप्यास्त्र परीक्षणको काम नगर्ने प्रस्ताव गरेको र यदि त्यसो हो भने आफू उनसँग भेटवार्ता गर्न पनि तयार रहेको जानकारी ती विशेषदूतले दिएका छन् ।
दक्षिण कोरियाली दूत चुन यु योङले राष्ट्रपति ट्रम्पले यसअघ पनि वार्ताको सम्भावनाको कुरा गरेको भए पनि उनले उत्तरसँग कुनै पनि प्रकारको सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेकाले उत्तर कोरियामाथि दबाब बढाएको धारणा राखे । दुई महिनामात्र अघिसम्म ती दुई नेताहरु सार्वजनिक रुपमा व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएको पाइन्थो । तर अव भने वार्ताका लागि बस्ने सहमति भएको छ ।
वार्ताको कुरा अप्रत्याशित र नाटकीय
यस घटनाक्रमलाई अप्रत्याशित घोषणाका रुपमा हेरिएको छ । उत्तर कोरियाली नेताको पत्र लिएर वाशिङ्टन पुगेका दक्षिण कोरियाली ती विशेषदूतले यो नयाँ कुराको खुलासा गरेपछि यसलाई अप्रत्यासित भनिएको हो ।
दक्षिण कोरियाली अधिकारीहरुका अनुसार किमले पारमाणविक र क्षेप्यास्त्र परीक्षणहरु स्थगन गर्न सहमति जनाउनुभएको छ भने पारमावणिक निस्शस्त्रीकरणका लागि पनि प्रतिबद्धता व्यक्त गरेका छन् । यो घटनाक्रम चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्तागर्न आग्रह गरेको भोलिपल्ट नै विकास भएको जस्तो देखिएको छ ।
बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले सो आग्रह गरेका थिए । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उनले यी दुई देशले जतिसक्दो चाँडै शान्तिवार्ता गर्नुपर्ने सुझाव दिएका थिए । विदेशमन्त्री यिले उत्तर कोरियाको परमाणुअस्त्र कार्यक्रमका बारेमा पनि दुई देशले वार्तागरी आफ्ना कुरा राख्नुपर्नेमा जोड दिँदै आएका थिए । दक्षिण कोरियाका दुई जना विशेषदूत बिहीबारै संयुक्त राज्य अमेरिका प्रस्थान गरेलगत्तै यता चिनियाँ विदेशमन्त्रीको यो प्रतिक्रिया आएको थियो । चीनको यो आग्रहलाई अर्थपूर्ण रुपमा लिइएको धारणा विश्व समुदायले राखेकै समयमा अमेरिकी राष्ट्रपतिबाट पनि यो प्रतिक्रिया आएको छ ।
हालैमात्र उत्तर कोरियाको भ्रमणबाट फर्र्किएका दुईजना दक्षिण कोरियाली विशेषदूत बिहीबार अमेरिका प्रस्थान गरेका थिए । उनीहरुले आफ्नो देश दक्षिण कोरिया र उत्तर कोरियाको सन्देश अमेरिकासम्म लानुभएको समाचारमा जनाइएको छ । यदि समाचारमा आएबमोजिम वार्तामा बस्ने हो भने राष्ट्रपति ट्रम्प नै उत्तर कोरियासँग वार्ता गर्ने पहिलो राष्ट्रपति हुने छन् । यसलाई कोरियाली प्रायद्वीपमा शान्ति तथा निशस्त्रीकरणका लागि ठूलो उपलब्धिका रुपमा हेरिएको छ । उत्तर कोरियाली नेताले थप अणुअस्त्रको परीक्षण आफूले नगर्ने भनी पठाएको सन्देशको कार्यान्वयन हुन सकेका पनि यस क्षेत्रको समस्या समाधानमा ठूलो योगदान पुग्ने देखिन्छ ।