मृगौला रोगीमा महिला बढी



चितवन  । राष्ट्रिय मृगौला उपचार केन्द्र चितवन युनिटले पुरुषमा भन्दा पहिलालाई मृगौलासम्बन्धी रोग लाग्ने गरेको एक तथ्यांकले देखाएको छ । विश्व मृगौला दिवसको अवसरमा चितवन युनिटले रत्ननगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो समय मृगौला रोगबाट महिला बढी पीडित हुने गरेको जानकारी दिइएको हो । १०० जनाको मृगौला जाँच गर्दा १२ प्रतिशत पुरुष र १४ प्रतिशत महिलामा मृगौलाको समस्या देखिने गरेको मृगौला रोग विशेषज्ञ डा.नवीन बहादुर बस्नेतले जानकारी दिए । मृगौला उपचार केन्द्रमा पनि पुरुषभन्दा महिला नै बढी डायलासिस गराउन आउने गरेको उनले बताए ।

यस वर्ष मृगौला उपचार केन्द्रले ‘महिलाको स्वास्थ्य र मृगौला’ भन्ने नाराका साथ विश्व मृगौला दिवस मनाएको छ । पिसावमा खराबी र जोर्नीमा समस्या हुने भएकाले महिलाहरूमा मृृगौला फेल हुने समस्या बढी देखिएको डा. बस्नेतले बताए । ‘महिलाको स्वास्थ्य कमजोर भयो भने मृगौला कमजोर भएको बच्च जन्मन्छ,’ उनले भने, ‘त्यही भएर पनि महिलाको स्वास्थ्य मजबुत हुन आवश्यक छ ।’ उनले महिलाको स्वास्थ्य र मृगौलाको सम्बन्ध अत्यन्तै नजिक रहेको बताए । उनले मृगौला कमजोर भएका आमाले जन्माएको बच्चाको मृगौला पनि कमजोर हुने बताए ।

राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौंका प्रशासन प्रमुख सुमन राउतले मृगौला रोग लाग्न नदिन राष्ट्रियस्तरमा मृगौला बचाऔं अधिभयान सुरु गरिएको जानकारी दिए । मृगौला जाँचको लागि शिविर सञ्चालन गर्ने र जनचेतना फैलाउन अभियान सुरु गरिएको उनले बताए । सो अभियानमा नेपालका नागरिकले वार्षिक ५०० रुपैयाँ सहयोग गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए । ५२ जनाले डायलाइसिस सेवा पाए पूर्वी चितवनको एक मात्र सरकारी अस्पताल वकुलहर रत्ननगर अस्पतालमा ५२ जनाले डायलायसिस सेवा पाएका छन् । यो उपत्यका बाहिरको पहिलो केन्द्रसमेत हो । विश्व मिर्गौला दिवसको अवसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो अस्पतालमा करिब २ वर्षमा ५२ जना मिर्गौला बिरामीले डायलाइसिस सेवा निःशुल्क रूपमा लिइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ती बिरामीहरूलाई ७ हजार ९५५ सेसन डायलाइसिस प्रदान गरिएको उनले बताए । यो रोग लागेका बिरामीलाई सातामा दुई पटक डायलाइसिस गर्नुपर्छ । एक पटकमा डायलाइसिस गर्न ३ हजार ३ सय रुपैयाँ लाग्ने भएता पनि सरकारले मिर्गौला रोग भएकाहरूलाई निःशुल्क सेवा दिँदै आएको छ ।

स्वीरजल्याण्डस्थित शान्ति मेड नेपालको सहयोगमा राष्ट्रिय मिर्गौला उपचार केन्द्रले वि.सं. २०७२ मंसिर १५ गतेदेखि डायलाइसिस सेवा सुरु गरेको थियो । पत्रकार सम्मेलनमा मिर्गौला रोगबाट हुने बिरामीको संख्या न्यूनीकरण गर्ने उद्देश्यका साथ राष्ट्रिय मिर्गौला उपचार केन्द्रले मिर्गौला बचाउ अभियान सुरु गरेको समेत जानकारी दिइयो । केन्द्रका डाक्टर नवीन बस्नेतका अनुसार मिर्गौलासम्बन्धी जनचेतना जगाउने, निःशुल्क मिर्गौला परीक्षण शिविरहरू विभिन्न स्थानमा संचालन गर्ने र मिर्गौला रोगको उपचारमा सहयोग पु¥याउने उद्देश्यका साथ अभियान चलाइएको हो । हरेक वर्ष मार्चको दोश्रो बिहीबार मिर्गौला दिवस मनाइने गरेको छ । नेपालमा हाल ५१ वटा संस्थामार्फत् करिब ४१० वटा मेसिनबाट २ हजार ८ सय बिरामीलाई डायलाइसिस प्रदान गरिँदै आएको छ भने राष्ट्रिय मिर्गौला उपचार केन्द्रमार्फत् ८२ वटा मेसिनबाट ८५० बिरामीले यो सेवा पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्