जातीय हिंसा रोक्न थप सेना परिचालित



कालोम्बो, (एजेन्सी)
श्रीलंकाली सरकारले मुस्लिम समुदाय विरुद्धको हिंसाहत्या समाप्त पार्नका लागि केन्द्रीय जिल्ला कान्डीमा थप सेना तैनाथ गरेको बिहीबार जनाएको छ। प्रहरीले त्यहाँ मस्जिद र मुस्लिमहरूको भवन र कार्यालयहरूमा आक्रमण गर्ने दंगावाज बौद्ध समुदायलाई तितरबितर गर्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। मुस्लिमहरूसँगको वादविवादमा एकजना बौद्ध युवक मारिएपछि तिनीहरूले कफ्र्यु उल्लंघन गरिरहेका छन्। सरकारले श्रीलंकामा संकटकाल घोषणा गर्दै कफ्र्यु लम्ब्याएको छ भने सामाजिक सञ्जाल बन्द गरिएको छ।

मंगलबार कान्डीको एउटा जलेको घरभित्र १ जना मुस्लिम युवकको लाश भेटिएकाले पुनः जातीय दंगा भड्किने आशंका गरिएको छ। बहुमत सिंहाली र अल्पमत मुस्लिम समुदायबीच थुप्रै क्षेत्रमा रातारात भिडन्त चर्केको र धेरै ठाउँमा आगजनीको घटना घटेको सञ्चार माध्यमले जनाएको छ।

त्यसै गरी बुधबार कान्डी जिल्लामा आफूले समाइरहेको ह्यान्ड ग्रिनेड पड्किँदा एकजना सिंहाली पुरुषको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीहरूलाई बिदा रोक्का गरिएको छ भने दशौं हजार सेनालाई पहाडी क्षेत्रका विभिन्न स्थानमा तैनाथ गरिएको सरकारी प्रवक्ता राजिथा सेनारथानेले बताएका छन्।

राष्ट्रपति मैथिपाला सिरिसेनाले अघिल्लो दिन बानिड जिल्लाको भ्रमण गरेका थिए। उनले समस्या निम्ताउनेविरुद्ध सम्पूर्ण बल प्रयोग गर्न सुरक्षा निकायलाई आदेश दिएको एएफपी समाचार निकायले जनाएको छ। यसै गरी श्रीलंकाली क्रिक्रेट टोलिका चर्चित पूर्वक्याप्टेन कुमार संगक्काराले जातीय हिंसा त्याग्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्