सात महिनामा ८९ थान मुद्दा



म्याग्दी, (नेस)
म्याग्दी जिल्लामा ७ महिनाको अवधिमा विभिन्न प्रकृतिका ८९ वटा मुद्दा दर्ता भएका छन्। चालू आर्थिक वर्ष २०७४⁄०७५ को फागुन तेस्रो सातासम्म जिल्ला प्रहरी कार्यालयमा कुल ८९ थान मुद्दा दर्ता हुन आएको कार्यालयले जनाएको छ।

कुल दर्ता भएका मुद्दामध्ये ५४ वटा फस्र्योट भइसकेका छन् भने ३५ वटा बाँकी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ। कार्यालयको तथ्यांकअनुसार सबैभन्दा धेरै ३८ वटा मुद्दा सार्वजनिक अपराधसँग सम्बन्धित रहेका छन्। यसै गरी झुण्डिएर आत्महत्या गरेका १७ वटा, भवितव्य ८, जबरजस्ती करणी र जुवातास ५–५ वटा रहेको प्रहरीले जनाएको छ।

त्यस्तै लागूऔषध, सवारी ज्यान र जबरजस्ती करणी उद्योगसम्बन्धी ३–३, हातहतियार खरखजाना, कर्तव्य ज्यान र फुटकर २–२ तथा विषसेवनको एउटा मुद्दा दर्ता भएको प्रहरीमा रेकर्ड रहेको छ। तथ्यांकका हिसाबमा पछिल्लो समय प्रहरीमा आउने मुद्दा दर्ताको घटनामा कमी आएको म्याग्दीका प्रहरी नायव उपरीक्षक वसुन्धरा खड्काले बताइन्। उनका अनुसार प्रहरीमा आउने महिलासँग सम्बन्धित ठाडो उजुरीबाहेक अन्य घटनामा कमी आएको देखिन्छ। चुनाव तथा महोत्सवको समय भए पनि विगतका वर्षको तुलनामा चालू वर्षको यो समयसम्म मुद्दा दर्ताको तथ्यांकमा न्यून देखिनु गाउँ–गाउँसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन, प्रहरी प्रशासनको सक्रियता, गाउँस्तरमा हुने मेला पर्वमा कडाइ गरिनुजस्ता क्रियाकलापले कमी आएको प्रनाउ खड्काको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्