एन्फामा महिला फुटबल डे मनाइयो



काठमाडौं, (नेस)
हरेक वर्षको मार्च ८ तारिखको दिन हुने अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पारेर एसियाली फुटबल महासंघ (एएफसी) ले अन्तर्राष्ट्रिय महिलाको फुटबल डे पनि मनाउने गरेको छ।

यसै अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार विभिन्न कार्यक्रम गरी एन्फा कम्प्लेक्समा अन्तर्राष्ट्रिय महिलाको फुटबल डे मनायो। संयोगवश अन्तर्राष्ट्रिय महिला दिवससँगै एफसी महिला फुटबल डे र महिला फुटबल डेसमेत एकै दिन परेको छ। यस वर्ष २३ हजार जनाको कीर्तिमानी उपस्थित भएको एन्फाले जनाएको छ। जसमा महिला र छात्राको उपस्थित भएको यो संख्या गत वर्षको भन्दा दोब्बर हो। गत वर्ष १२ हजार ७ सय जनाको मात्र सहभागिता थिए।

एन्फा मैदानमा विभिन्न विद्यालयका छात्राले भाग लिएका थिए। एन्फाका वरिष्ठ प्रशिक्षकले उनीहरूलाई केही कला पनि सिकाएका थिए। नेपालको राष्ट्रिय टोलीका खेलाडीबीच २० मिनेटको मैत्रीखेल पनि सञ्चालन गरिएको थियो। प्रमुख अतिथि प्रदेश–३ की उपसभामुख राधिका तामाङले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

यस्तै सोही कार्यक्रममा नेपाल राष्ट्रिय महिला फुटबलकी कप्तान अनु लामालाई सम्मान पनि गरियो। लामाले नेपालका लागि ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन्। यो नेपाली खेलाडीले गरेको सर्वाधिक अन्तर्राष्ट्रिय खेलमा गरेको गोल संख्या पनि हो। उनलाई २५ हजार रुपियाँ दिएर सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्