हिउँदे ओलम्पिकमा उचाइ चुम्दै नर्वे



प्योङचेङ, (एजेन्सी)
दक्षिण कोरियाको प्योङचेङ शहरमा भएको २३औं हिउँदे ओलम्पिक खेलकुद गत आइतबार सम्पन्न भयो। १७ दिनसम्म चलेको उक्त खेलकुदको समापन भव्यताका साथ सम्पन्न भएको थियो। उक्त समापन समारोहमा दक्षिण कोरियाको प्रविधि र ड्रोन शो सबैको आकर्षणको केन्द्र बनेको थियो। उक्त खेलकुदमा ९२ राष्ट्रका करिब ३ हजार खेलाडीले लिएका थिए। जसमध्ये २९ राष्ट्रले पदक जित्न सफल भए।

प्रतियोगितामा ५३ लाख जनसंख्या रहेको नर्वेले १४ स्वर्णसहित सबैभन्दा बढी ३९ पदक जितेर नयाँ कीर्तिमानसमेत कायम गर्यो। नर्वेले प्योङचेङमा जितेको पदक संख्या ९४ वर्ष पुरानो हिउँदे ओलम्पिक इतिहासमै सबैभन्दा अधिक हो। यसअघि कुनै एक राष्ट्रले एउटै हिउँदे ओलम्पिकमा यति धेरै पदक जित्न सकेको थिएन। नर्वेले १४ स्वर्ण, १४ रजत र ११ कांस्य गरी कुल ३९ पदक जित्दै मेडल तालिकाको शीर्ष स्थान हासिल गरेको हो। यसै गरी दोस्रो स्थानको जर्मनीले १४ स्वर्ण, १० रजत र ७ कांस्यसहित कुल ३१ पदक जित्यो। तेस्रो स्थानको क्यानडाले ११ स्वर्ण, ८ रजत र १० कांस्य गरी कुल २९ पदक जितेको छ।

पदकलाई अधार मान्ने हो भने भर्खरै सम्पन्न हिउँदे ओलम्पिकमा नर्वेले ठूलै छलाङ मारेको हो। विगतमा पनि नर्वेले पदकै नजितेका भने होइन। तर, सन् १९८८ सम्मको तथ्यांकलाई हेर्ने हो भने हिउँदे ओलम्पिकमा नर्वे स्वर्णविहीन राष्ट्रको सूचीमा उभिने गर्दथ्यो। सन् १९८८ ताका स्वर्णविहीन बनेपछि नर्वेली सरकारले खेलकुदमा व्यवसायीकरणको थालनी गरेका हुन्। जसअनुरूप शुरुमा ओलम्पियाटपेन बनाए। त्यसअन्तर्गत वैज्ञानिक, आहार विशेषज्ञ, पूर्वखेलाडी, प्रशिक्षकलाई सम्मिलित गराएका थिए।

पछिल्लो नतिजाले नर्वेको सफलताको रहस्य के होला भन्ने प्रश्न उठ्नु स्वभाविक हो। यसको जवाफ भने क्रस कन्ट्री स्की खेलाडी तथा तीन ओलम्पिक पदक विजेता योहानेस क्लाबोले दिएका छन्। उनी भन्छन्– ‘प्रायःजसो देशले खेलमा जित्न सानो बच्चालाई दबाब दिने गर्दछन्। तर, नर्वेमा भने यस्तो हँुदैन। हिउँ नर्वेली जीवनको एउटा अभिन्न अंग हो। हामीलाई स्कीसँग जन्मिने गरेको भन्ने गर्दछन्। हरेक आइतबार यहाँका प्रायःजसो नागरिकले स्की गर्छन्। तर, हाम्रो सफलताको कोसेढुंगा भनेको हामी जितभन्दा सहभागितालाई महत्त्व दिने गर्छौं। जितका लागि दबाब नहुने कारणले बच्चाहरू रमाइलोका लागि खेल्ने गर्छन्। यस कारण उनीहरूमा एथ्लिटका साथसाथै अनुशासित संस्कारलाई अँगाल्ने बानीसमेत बस्दछ। जब उनीहरू खेल्न थाल्छन् त्यतिबेला उनीहरूको दिमागमा प्रतिस्पर्धा होइन, खाली खेल मात्र हुन्छ।’

नर्वेली ओलम्पियाटपेनका निर्देशक टोरे ओभरबो बताउँछन्– ‘हामी चाहन्छौं बच्चाहरूले खेलुन्। तर, उनीहरूको खेलमा प्रतिस्पर्धा नहोस्। उनीहरूले जितका लागि नखेलुन्, विकासका लागि खेलुन्। बच्चालाई जितको प्रतिस्पर्धाबाट बचाउन हाम्रो देशमा कडा नियम छ। यहाँका बच्चालाई १३ वर्ष नपुगुञ्जेल कुनै पनि प्रकारको खेल स्पर्धामा वरीयता दिने गरिँदैन। जसका कारण उनीहरू दबाबविहीन भएर खेल्छन्। यस क्रममा हामीले उनीहरूको प्रतिभा छान्छौं र अझै उच्चस्तरको तालिम प्रदान गर्छौं।’

नर्वेमा खेलाडीलाई कुनै एउटा स्पर्धामा मात्र केन्द्रित हुन अह्राइँदैन। उनीहरूले अन्य स्पर्धामा पनि खेल्ने गर्छन्। नर्वेका मेरिट ब्योर्गेनले प्योङचेङमा ५ पदक जितेका छन्। यो त्यही नियमको नतिजा हो।

प्रतिक्रिया दिनुहोस्