विकास बोर्डले रोकेको गाँजा बाजासहित ३ फिल्म



आज शुक्रबार सिने बजारमा एकसाथ ३ फिल्मको भिडन्त हुने भएको छ। चलचित्र विकास बोर्डले नामलाई लिएर निर्माण इजाजत नै नदिएको गाँजा बाजासहित तीन फिल्म रिलिजमा आउने भएको छन्।

बोर्डको तत्कालीन नेतृत्वले फिल्मको शीर्षकमा गाँजा राखिएकाले निर्माणका इजाजत नदिएपछि मुद्दामा गएको फिल्म १ वर्षपछि सर्वोच्च अदालतको फैसलासँगै रिलिजमा आउन लागेको हो।

गणेशदेव पाण्डेको लेखन र निर्देशन तथा दीपेन्द्र रेग्मी र गोमा विष्ट थापाको निर्माणमा बनेको फिल्मले दुव्र्यसनमा फसेका युवाको कथा बोल्नेछ।

अनुपम शर्मा, सुशील सिटौला, रविन थापा, उद्धव भट्टराई, अम्बर सुवेदी, वर्षा शिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बालगायतले प्रमुख भूमिकामा अभिनय गरेको फिल्ममा निख एन्ड जटाको संगीत, जाकोपो राचलिकको छायांकन र लोकेस वज्राचार्यको सम्पादन रहेको छ।

गाँजा बाजासँगै मंगलम् र हुर्रे नामका अरू दुई फिल्म पनि आजै रिलिजमा आउने भएका छन्। छविराज प्रोडक्सनको ब्यानरमा नवल खड्काद्वारा निर्देशित तथा नायिका शिल्पा पोखरेलद्वारा प्रस्तुत मंगलम् दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङले निर्माण गरेका हुन्। गोविन्द फुयालको कथा, निर्देशक नेपाल र गोविन्द फुयालको पटकथा र संवाद, दीपक शर्माको संगीत, कविराज गहतराजको नृत्य, विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको फिल्ममा शिल्पा पोखरेल, पुष्पल खड्का, सामाज्ञ्री राज्यलक्ष्मीदेवी शाह, नीर शाह, मिथिला शर्मालगायतका कलाकार प्रमुख भूमिकामा छन्।

त्यसै गरी आजै रिलिजमा आउन लागेको हुर्रे यम थापाले निर्देशन गरेका छन्। अनुपविक्रम शाही, केकी अधिकारी, अंकित खड्का, राजाराम पौडेल, संगीता नापित, प्रकाश घिमिरेलगायतले प्रमुख भूमिकामा अभिनय गरेको फिल्ममा लेखन निर्देशन थापाकै, गीत राजेन्द्र थापा र कालिप्रसाद बासकोटा, संगीत कालिप्रसाद बासकोटा र राजनराज शिवाकोटी, नृत्य विक्रम स्वाँर, छायांकन शिव ढकाल र सम्पादन चन्द्र दत्तको रहेको छ।

प्रतिक्रिया दिनुहोस्