संघीय राजधानीमा चम्किँदै कला क्षेत्र



रोशन पराजुली, हेटौंडा

देशको राजधानीसमेत पर्ने ३ नम्बर प्रदेशको अस्थायी राजधानी तोकिएसँगै हेटौंडामा कला क्षेत्रसँग सम्बन्धित कार्यक्रमको चहलपहल बढेको छ।

यस्तै चहलपहलमा फिल्मका गतिविधिले प्रशस्त स्थान पाउन थालेका छन्। देशको मध्यभागमा पर्ने भएकाले पनि फिल्मकर्मी हेटौंडामा फिल्मका गतिविधि छुटाउन चाहँदैनन्। नेपाली फिल्मको राम्रो दर्शक भएकाले र यहाँका राम्रो समूह यस क्षेत्रसँग जोडिएका कारण फिल्मका गतिविधिमा बढोत्तरी स्वभाविक मानिएको छ। ३ साताअघि रिलिजमा आएको फिल्म कान्छीकी नायिका श्वेता खड्काले हेटौंडाका दर्शकसँग खुसी साटासाट गरिन्। उनले ओम्याक्स सिनेमा घरका दर्शकसँग बसेर केहीबेर आफ्नो फिल्म हेरिन्। फिल्म हेरिरहेका दर्शकमाझ सिनेमा हल पुगेकी श्वेतालाई देखेर दर्शक पनि खुसी भए। उनीहरू श्वेतासँग सेल्फीमा रमाए। श्वेताले हेटौंडाका दर्शकलाई फिल्प्रति माया दर्शाएकोमा धन्यवाद दिइन्। दर्शकलाई आगामी दिनमा पनि राम्रो चलचित्र पस्कने आश्वासन दिँदै उनले यस क्षेत्रमै आफ्नो निरन्तरता रहने बताइन्।

यसै सरेफोरोमा दुई चलचित्रको टोली पनि हेटौंडा आइपुग्यो। मोफसल यात्रामा प्रचारका लागि निस्केका यी दुई टोली फिल्म नाका र मंगलम् थिए। दुई फिल्मको देश दौडाहा जम्काभेट हेटौंडामा भयो। नाकालाई एक्लै बोकेका अभिनेता विपीन कार्कीले आफूले अभिनय गरेका अन्य फिल्मभन्दा यो फिल्म फरक धारमा बनेको बताए। हुर्रे फिल्मको प्रचारका लागि देश दौडाहामा रहेको टोलीले पनि हेटौंडामा पत्रकार सम्मेलन गर्दै फिल्म पूर्णरूपमा कमेडी कथामा रहेको दाबी गरेको छ।

कला क्षेत्रकै अर्को पाटोमा नेपाल डायरिज प्रालिको आयोजनामा मिस सेन्ट्रल नेपालको पहिलो संस्करण चैत ५ गते हेटौंडामा नै हुने भएको छ। मध्यमाञ्चलस्तरीय उक्त प्रतियोगितामा २२ जना सहभागी रहने आयोजकले जनाएका छन्। यसमा काठमाडौं, हेटौंडा र चितवनका प्रतियोगी सहभागी हुनेछन्। सहभागीलाई प्रशिक्षण कक्षा चलिरहेको कार्यक्रम संयोजक सोफिया फागोले बताइन्। प्रतियोगितामा विजेताले सुनको ताज, स्कुटर र स्वदेश भ्रमण प्याकेज, दोस्रो र तेस्रो हुनेलाई चाँदीको ताज र स्वदेश भ्रमण प्याकेज पुरस्कार रहेको संयोजक फागोले दाबी गरिन्।

प्रतिक्रिया दिनुहोस्