काठमाडौं–भक्तपुर वैकल्पिक मार्ग अपरिहार्य



काठमाडौं शहर भित्रिने पूर्वी प्रमुख चोक कोटेश्वरमा सवारी जाम नभएको दिन नै हुँदैन । काठमाडौंको तीनकुनेदेखि भक्तपुरको सूर्यविनायकसम्म ६ लेनको सडक सञ्चालनमा आएपछि ट्राफिक जाम कम हुने अपेक्षा गरिएको थियो । तर अहिले अत्यधिक सवारीसाधन कोटेश्वर चोक भएर बाहिरिने र भित्रिने हुँदा तीनकुनेदेखि जडीबुटीको मनहरा पुलसम्मको सडक प्रायः सधैँ जाम हुने गरेको छ । सडक जामकै कारण अफिस जान वा जरुरी काममा निस्किएका यात्रुहरू समयमै गन्तव्यमा पुग्न सकेका छैनन् । यतिसम्म कि बाहिर जान प्लेनको टिकट लिएकाहरू जाममा फस्नाले प्लेन नै छुट्ने हो कि भनेर गाडीबाट ओर्लेर सुटकेस गुडाउँदै हिँडेको पनि देखिन्छ । भक्तपुरबाट कोटेश्वरसम्म आउने एकमात्र सडक भएकाले सिकिस्त बिरामी बोकेको एम्बुलेन्सले समेत कोटेश्वर चोक पार गर्न बढी नै समय खर्चिनुपर्ने भएको छ । सडक जामकै कारण समयमा अस्पताल पुर्याउन नसक्दा बिरामीको ज्यान नजाला भन्न सकिने अवस्था छैन ।

धुलीखेल भएर तराई जाने बीपी राजमार्ग सञ्चालनमा आएपछि यस सडकमा सवारीसाधनको अत्यधिक चाप बढेको छ । महानगरीय प्रहरी प्रभाग जगातीका अनुसार काभ्रे, सिन्धुली, ओखलढुंगा, खोटाङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बुलगायतका जिल्लाबाट दैनिक ६ हजार सवारीसाधन राजधानी भित्रिने र यत्तिकै संख्यामा बाहिरिने गर्छन् । कोटेश्वर नाकाबाट मात्र दैनिक १० हजार सवारीसाधन भित्रिने र बाहिरिने गरेको बताइन्छ । यसमा भक्तपुर–काठमाडौं ओहोरदोहोर गर्ने मोटरसाइकलको संख्या त हिसाब गरेर साध्य नै छैन । कोटेश्वर–जडीबुटी सडक किनाराको ठाउँठाउँको बार भत्केकाले फुटपाथबाट समेत मोटरसाइकल दौडाइँदा मोटरसाइकल चालक त जाममा पर्छ नै, पैदल यात्रीसमेत जाममा पर्ने गरेको देखिन्छ । त्यसैले यस स्थानमा वैकल्पिक मार्गको लागि राज्यले नै पहल गर्नुपर्ने देखिन्छ ।

यस मार्गको विकल्प भनेको काठमाडौंको तीनकुनेस्थित मुनिभैरवदेखि जडीबुटीको मनहरा खोलासम्म सुरुङमार्ग निर्माण नै हो । सुरुङमार्ग निर्माण खर्चिलो भए पनि सबैभन्दा दिगो उपाय भनेको यही हो । कुनै उपायले अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा लिन मिल्छ भने सडक फराकिलो पार्न त सकिएला तर कोटेश्वर चोक र जडीबुटी चोकमा समस्या यथावत् रहनेछ । सडक फराकिलो पारेसँगै कोटेश्वर चोक र जडीबुटी चोकमा गाडी क्रस गर्न फ्लाइओभर बृज पनि बनाउनुपर्ने हुन्छ । त्यसैले सबैभन्दा उत्तम उपाय भनेको सुरुङमार्ग नै हो । यसका लागि केपी ओली नेतृत्वको वाम गठबन्धन सरकारले तुरुन्तै गृहकार्य थालिहाल्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्