मुख्य सचेतक मनोनित गर्ने तयारीमा देउवा



Photo: THT

नेपाल समाचारपत्र
काठमाडौं
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सदनमा कांग्रेसको भूमिका प्रभावकारी बनाउन तत्काल मुख्य सचेतकको मनोनयन गर्ने तयारी गर्नुभएको छ। कांग्रेस संसदीय दलको विधानमा मुख्य सचेतकको जिम्मेवारी महत्त्वपूर्ण भएकाले सभापति देउवाले सो जिम्मेवारी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने सांसदलाई मुख्य सचेतकको जिम्मेवारी दिने देउवा निकट एक नेताले बताएका छन्।

संसदीय दलको नेतामा निर्वाचित भएलगत्तै उपनेतामा विजयकुमार गच्छदारलाई मनोनित गर्नुभएको देउवाले मुख्य सचेतक भने अझै मनोनित गर्नुभएको छैन। देउवाले राष्ट्रिय सभाको संसदीय दलको नेता पनि मनोनित गर्न बाँकी छ।

दलको नेता चुनिएपछि देउवाले भने छिटै मुख्य सचेतक मनोनित गर्ने बताउनुभएको थियो। हालै सम्पन्न निर्वाचनमा कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा सीमित भएपछि कांग्रेस सभापति देउवालाई प्रभावकारी ढंगले काम गर्न सक्ने क्षमतावान सांसदलाई मुख्य सचेतक बनाउन दबाब पनि बढेको छ।

सदनमा प्रस्तुत हुने नीति, कार्यक्रम तथा विधेयकहरूबारे कार्यसमितिको निर्णय संसदीय दलका सदस्यहरूलाई उपलब्ध गराउने तथा सदस्यद्वारा पेस गरिने ध्यानाकर्षण, सार्वजनिक महत्त्वको प्रस्ताव, संकल्प आदि प्रस्ताव पेस गर्न अनुमति दिने र पार्टीको नीतिविपरीत दर्ता भएका त्यस्ता प्रस्तावलाई नीति अनुरूप पेस गर्न वा फिर्ता लिने व्यवस्था मिलाउने जिम्मेवारी मुख्य सचेतकलाई तोकिएको छ।

पार्टी प्रतिपक्षमा रहेको बेला पार्टीको मान्यताअनुरूपको संसदीय कार्यको पक्षमा समर्थन जुटाउने र संसद्मा विचारार्थ पेस हुने वा पेस भएको विषयमा सदस्यको कुनै औचित्यपूर्ण असहमति वा सुझाव भए दलका नेता तथा सरकारलाई अवगत गराउने कार्यसमेत मुख्य सचेतककै जिम्मेवारीमा रहेको छ। साथै, नेतासँग परामर्श गरी संसद्को कुनै पनि विषयमा अन्य दलका नेता तथा सदस्यहरूसँग समझदारीका सम्भावना पहिल्याउने र संसद्मा निर्णयार्थ पेस हुने कुनै पनि विषयमा संसदीय दलको नीति, कार्यसमितिको निर्णय वा नेताको निर्देशनमा मतदानका सम्बन्धमा सदस्यहरूलाई मौखिक वा लिखित निर्देशन दिने कार्य पनि मुख्य सचेतकको जिम्मेवारीभित्र तोकिएको छ।

कांग्रेस संसदीय दलको विधानमाा मुख्य सचेतकको काम कर्तव्य र अधिकारीमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग सम्पर्क राखी संसद्का कार्यमा सहयोग पुर्याउने र संसद्को बैठक र संसद्का सबै समितिहरूमा भए गरेका काम–कारबाही तथा सो सम्बन्धमा पार्टी र अन्य राजनीतिक दलहरूको स्थितिसमेतका बारेमा संसदीय दलको नेतालाई निरन्तर जानकारी गराउने भनि तोकिएको छ।

संसद्मा छलफलका लागि प्रस्तुत विषय, विचाराधीन प्रस्ताव वा विधेयकमा संसदीय दललाई प्राप्त समयअनुसार सदस्यलाई बोल्न समय तोक्ने, सदस्यलाई संसद्को काममा क्रियाशील भइरहन र पूर्ण तयारीका साथ संसद्को बहसमा भाग लिन प्रेरित गर्ने कार्य पनि मुख्य सचेतककै जिम्मेवारीभित्र पर्छ।

संसद्मा सम्पादन भएका काम र आगामी कार्यसूचीबारे नेता, कार्यसमिति, संसदीय दल र आवश्यकताअनुसार पार्टीलाई निरन्तर जानकारी गराउने जिम्मेवारीसमेत रहेको मुख्य सचेतकमा कांग्रेसभित्र कृष्णप्रसाद सिटौला पक्षले गगन थापालाई मनोनित गर्न संसदीय दलका नेता देउवालाई दबाब दिइरहेका छन्। संसद् र समितिहरूको बैठकमा संसदीय दलका तर्फबाट अख्तियार गर्नुपर्ने नीति र कार्ययोजनाबारे छलफल गरी कार्यान्वयन गर्ने तथा संसद र समितिको बैठकमा संसदीय दलको अनुशासन कायम राख्ने कार्य गर्ने तथा संसद्मा संयुक्त कार्ययोजना तयार गर्नुपर्ने विषयमा अन्य दलका सचेतकसँग सम्पर्क गर्ने कार्यसमेत मुख्य सचेतकको रहेको छ।

प्रतिक्रिया दिनुहोस्