नारी दिवसकै दिन उपाध्यक्ष बैठक कक्षबाटै निकालिइन्



दोलखा । विश्वभर तामझामका साथ अन्र्तराष्ट्रिय नारी दिवस मनाईरहेका बेला गाउँपालिकाकी उपाध्यक्ष अध्यक्षबाट अपमानित हुनु परेको छ ।

गाउँ कार्यपालिकाको वैठक बसिरहेको समयमा अध्यक्षले आफूमाथि अभद्र व्यवहार गरी बैठक कक्षबाट निकालेको कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले आरोप लगाउनुभएको छ ।

शुक्रबार अर्थात् फागुन २५ गतेका लागि तय गरिएको गाउँसभा बैठकको पूर्व तयारी बैठकमा अवैधानिक रुपमा गाउँसभाको बैठक आह्वान गरिएको विषयमा कुरा उठाउँदा अध्यक्ष विनकुमार थामीले आफूलाई बैठक कक्षबाट अपमानजनक रुपमा निकालेको उपाध्यक्ष पाठकको आरोप छ ।

गाउँसभा हुनु सात दिन अगाडि नै उपाध्यक्षसहित गाउँ कार्यपालिकाका सबै सदस्यहरुलाई पत्राचार हुनुपर्ने भए पनि ऐन विपरित अध्यक्षले एकलौटी ढंगले गाउँसभाको आयोजना गरिएको भन्दै उपाध्यक्ष पाठक लगायत केहि वडा अध्यक्ष र सदस्यहरुले गाउँपालिका अध्यक्षलाई बुधबार नै ध्यानाकर्षण पत्र बुझाएका थिए ।

गाउँपालिकाको केन्द्र परिवर्तनका लागि कार्यपालिकाका दुई तिहाई सदस्यको सहमतिमा गाउँसभामा सिफारिस गर्न सक्ने कानुनी व्यवस्था भएपनि सामान्य बहुमतले निर्णय गरेर कानुन उल्लंघन गरेको पाठकले बताउनुभएको छ । हाल गाउँपालिकाको वडा नम्बर ७ सुनखानीमा केन्द्रको कार्यसम्पादन भईरहेको भएपनि गत फागुन ५ गते कार्यपालिकाको बैठक बसेर सामान्य बहुमतले वडा नम्बर ५ लापिलाङ्गमा केन्द्र तोकेको पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्