कर्णाली प्रदेशसभा नियमावली, २०७४ हस्तान्तरण



सुर्खेत ।  कर्णाली प्रदेशसभा नियामवली, २०७४ मस्यौदा समितिले आज सभामुख राजबहादुर शाहीलाई प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रदेशसभा सदस्य सीता नेपालीको संयोजकत्वमा गठित आठ सदस्यीय मस्यौदा समितिले सभामुख शाहीलाई बुधबार साँझ प्रतिवेदन बुझाएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र सामाजिक विकासमन्त्री दल रावलसहितको उक्त समितिले चारवटा समिति र तिनको कार्य क्षेत्रसमेत तोकिएको प्रतिवेदन बुझाएको हो । नियमावली प्रतिवेदनमा २६ परिच्छेद र आठवटा अनुसूची रहेको समितिका संयोजक नेपालीले जानकारी दिए ।

 

‘समितिको आठवटा बैठक बसेर मस्यौदा तयारीमा व्यापक छलफल गर्यौँ । तोकिएको १५ दिनको अवधिभित्रै प्रतिवेदन सभामुखलाई बुझाएका छौँ,’ उनले भने । उनले प्रदेशको आवश्यकताका आधारमा तयार गरिएको नियमावली, २०७४ का विषयमा विशेषज्ञहरुबाट पनि सुझाव लिइएको बताए ।

संविधानको धारा, १९३ बमोजिम प्रदेशसभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न नियमावलीअन्तर्गत विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत साधन र सामाजिक विकास समितिको प्रस्ताव गरिएको छ ।

 

त्यसैगरी, समितिले कर्णाली प्रदेशसभा कार्य सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि, २०७४ खारेजी र सो कार्यविधिबमोजिम भए/गरेका काम–कारबाही यसै नियमावलीबमोजिम मानिने प्रस्ताव गरेको छ । महिला र पुरुष दुवैको हत्केलामाथि पृष्ठभागमा कर्णाली प्रदेशको नक्सा र त्यसमाथि नेपालको राष्ट्रिय झण्डा राखिएको, फेदमा कर्णाली प्रदेशसभा सदस्य लेखिएको हुने नमूना पनि प्रस्ताव गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन बुझ्दै सभामुख शाहीले अहिले सबै प्रदेशसभा सदस्यहरु नभएकाले राष्ट्रप्रतिको निर्वाचनपछि मात्र बैठकमा प्रस्तुत हुने बताए । प्रदेशसभा बैठकबाट पारित भइसकेपछि मात्र प्रदेशसभा नियमावली, २०७४ जारी हुने उनले बताए । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा समितिका अन्य सदस्यहरु, मीना रखाल, दीनबन्धु श्रेष्ठ, यज्ञबहादुर बुढा र शोशिला शाहीको उपस्थिति रहेको थियो । 

-रासस

प्रतिक्रिया दिनुहोस्