झापाको मेची पुल सेल्फी खिच्नका लागि मात्र प्रयोग



उत्तम नेपाल, भद्रपुर । भारतीय सीमावर्ती नाकासंग जोड्ने झापाको भद्रपुरस्थित बहुप्रतिक्षित मेची नदीमा निर्माणाधिन पक्की पुल निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेपनि पुलको पुर्व पश्चिम सडक निर्माण नगरेका कारण पुलमा सेल्फी खिच्नेमात्र प्रयोग हुने पाइएको छ ।

मेची पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हुलाकी सडक आयोजना इटहरीले जनाएपनि सडक पुलसंग नजोडिएकाकारण पुलमाथि सेल्फी खिच्नमात्र प्रयोगमा आउने पाइएको हो ।
मेची पुलको निर्माण कार्य माघ मसान्त सम्म सम्पन्न हुने भएपनि ठेकदार कम्पनीले ढिला सुस्ती काम गरेका कारण निर्माण सम्पन्न हुन अझै केहि महिना लाग्ने बुझिएको छ । पुल निर्माण सम्पन्न भएपनि पुल जोड्ने सडक निर्माण कार्य अन्यौल भएका कारण मेची पुल प्रयोगविहीन हुने प्रष्ट देखिएको छ ।

पुलको पूर्व पट्टि अर्थात भारतीय भुमि (१०३ नम्बर सीमा पिलरसंग) जोड्ने डेढसय मिटर सडक र पश्चिम पट्टि नेपालको २ सय ९० मिटर लम्बाई र ३० मिटर चौढाई भएको ग्राभेल सडक निर्माण कम्पनीले निर्माण गर्नुपर्ने ठेक्का सम्झौता भएको थियो । पूर्व पट्टि भारतको बंगाल तथा विहार राज्य पर्ने भएकोले सो सडकलाई विहार सरकारले जोडेर विस्तार गर्ने योजना अघि बढिसकेको पाइएको छ । विहार सरकारले सो सडक जोड्नलाई सडकको अनुगमन गरेर ३सय६० मिटर सडक निर्माणको लागि टेण्डर प्रक्रियामा गइसकेको बुझिएको छ ।

तर, नेपालको भद्रपुर जोड्ने सडक निर्माण गर्ने स्थानमा बसोबास गर्दै आएका नगरबासी र सरकारी भौतिक संरचना अहिले सम्म खाली गराइएको छैन । जमिन खाली गराए बापत ८ करोड रकम वितरण गरिसकिएको र घरको मुल्याकंन गर्दा करिब साढे २ करोड रकम आवश्यक रहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर उपेन्द्र दासले बताए ।

उनका अनुसार सडकमा पर्ने २४ घर मध्ये भद्रपुर छोटी भन्सार , वडा प्रहरी र पशुक्वारेन्टाइन कार्यालय भएपनि सरकारी कार्यालय बाहेक २१ घरपरिवारलाई रकम वितरण गरिसकेको इन्जिनियर दासले बताए । यसको अध्ययन गरी आधिकारीक पत्र सडक विभागमा पठाइसकेका छौ । अव सडक विभागले अर्थ मन्त्रालयसंग रकम माग गरेर पठाएपछि अनि मात्र घर टहराको रकम वितरण गरि सडकको काम सुरु हुने उनले बताए ।

नेपाल तर्फ पुलको पश्चिम मुखदेखि झापा चौक सम्म १३ सय ३० मीटर लम्बाइ र ३० मीटर चौडाइ हुने गरि सडक निर्माण गर्नु पर्ने देखिएको छ । पुलको ठेक्कामा परेको २ सय ९० मीटर बाहेक बाँकी सडकको डीपिआरमात्र सम्पन्न गरि विभाग पठाइएको उनको भनाई छ ।

मेची पुलको सडक छोटी भन्सार, वस पार्कवाट गुप्ता राइसमिल हुदै झापा चौकमा जोडिने भएपनि सो क्षेत्रमा कामको गतिले तीब्रता नपाएकोले पुल बनेर मात्रै केहि नहुने झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले बताए । पुलसगै एकैचोटी सडक निर्माण नभएमा पुलमा गएर सेल्फी खिच्ने भन्दा अरु कुनै प्रयोगमा नआउने प्रमुख पोर्तेलको भनाइ छ ।

साइकलमा गएर भारतवाट उपभोग्य बस्तुमात्र ल्याउनलाई पुल नबनेको भन्दै पुलवाट ठुला ÷ठुला मालबाहक ट्रक नेपाल आउने उदेश्य रहेको भएतापनि नेपाल तर्फ निर्माण हुने सडकको अन्यौलताका कारण पुल प्रयोविहीन हुने भद्रपुर नगरपालिका मेयर जीवन कुमार श्रेष्ठले बताए । पुल र सडक एकैचोटी उद्घाटन भएमात्र सहज हुने मेयर श्रेष्ठको भनाइ छ ।

पुल सञ्चालनमा आएसगै भद्रपुर छोटी भन्सारमा चाप बढी हुने भएकोले पुलको नजिकै करिब दश विगाह जमिन आवश्यक परेको मेची भन्सार कार्यालय काकडभिट्टाका प्रमुख भन्सार अधिकृत टेक बहादुर अर्यालले जनाए । जग्गा प्राप्तीको लागि सम्बन्धित निकायसग जानकारी गराइसकिएकोले सवैले सहयोग पुर्याउन प्रमुख भन्सार अधिकृत अर्यालले अनुरोध गरेका छन् ।

वि.स. २०६६ माघ २१ गतेदेखि मेची पुल निर्माण कार्य सुरु गरेको हो । तीन बर्षमा निर्माण कार्य सम्पन्न हुनुपर्ने मेची पुल ९ बर्षपछि बल्ल बन्न लागेको छ । लगभग ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेकोले अव दुई महिनामा पुल तयार हुने छ ।

पूर्वी काकँडभिट्टा नाकापछि झापाको दोस्रो नाकामा भद्रपुरमा पर्छ । विहार तथा बंगालसहित बंगलादेश जान समेत यस नाकाबाट दुरी छोटो पर्ने भएकोले यस नाकाको छुट्टै विशेषता छ । यस नाकामा पर्ने मेची नदीमा पक्की पुल बनाउनु पर्ने भन्दै सात दशकदेखि यहाँका जनताले माग उठाउदै आएको थियो । बल्ल जनताको सपना पुरा हुन लागेको छ ।

बर्खाको चार महिना नेपाल तथा भारत दुवै देशका नागरिक आफ्नो ज्यानको जोखिम मोल्दै डुङ्गाको प्रयोग गरेर आवतजावत गर्न बाध्य छन् । बर्खा सकिन साथ मेची नदीमा बनाइँदै आएको अस्थायी बाँसे पुलको सहयातामा पनि सर्वसाधारण आवतजावत गर्ने गर्छन । नदीमा अस्थायी बाँसे पुल बनाएकोे पनि १५ बर्ष भन्दा बढी भइसकेको छ ।

केही बर्ष भद्रपुर नगरपालिकाले सर्वसाधारणको सेवासुविधालाई मध्यनजर गर्दै बाँसे पुलबाट आवतजावतलाई निशुल्क बनाएको थिए । तर, यसबर्ष नगरपालिकाले मानीससहित अन्य सवारीसाधन र सरसमानबाट शुल्क उठानका लागि ठेक्का नै दिएको छ । नाकामा भद्रपुर छोटी भन्सार रहेकोले त्यतिकै मात्रामा भारतबाट सरसामान पनि राँगा गाढाको प्रयोग गरेर नेपाल आयात हुने गरेको छ ।

तत्कालीन उपप्रधान एवंम भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले २०६६ माघ २१ गते मेची पुलको शिलान्यास गर्दै तीन बर्ष भित्र पुल निर्माण हुने दावी गरेका थिए । तर, गच्छदारले बोलेको कुरा तीन बर्षमा नभएर बल्ल ९ बर्ष पूरा हुन लागेको छ । भारतको बंगाल तथा बिहार राज्यसंग जोडिने पुलको कुल लागत करिब ३३ करोड रहेको छ । पुलको लम्बाई ५ सय ६० मिटर र चौढाई ११ मिटर छ ।

प्रतिक्रिया दिनुहोस्