स्थानीय सरकारका धमाधम ‘इजलास’



मोतीराम तिमल्सिना, काभ्रे  । संविधानले ब्यवस्था गरे अनुरुप स्थानीय सरकारहरुले इजलास निर्माण गर्न थालेका छन् । पहिलो सभाबाट स्थानीय सरकारहरुले गठन नगरेका न्यायीक समितिहरु समेत धमाधम गठन हुन थालेका छन् ।

स्थानीय सरकारको पहिलो सभाबाट भुम्लु गाउँपालिकामा न्यायीक समिति गठन भएको थियो । उक्त समितिले ऐन, कानुन निर्माण नभए पनि स्थानीय स्तरमा आएका विवादहरुको रुपान्तरण र देवानी प्रकृतिका उजुरीहरुको हल गर्दै आएको थियो । गाउँपालिकाको आफ्नै स्थायी कार्यालय नहुँदा इजलास निर्माण हुन नसके पनि नागरिकहरुलाई दिनु पर्ने सेवा दिईरहेको उपाध्यक्ष एवं न्यायीक समितिका संयोजक कल्पना श्रेष्ठले जानकारी दिईन् ।

भुम्लु गाउँपालिका पछि मण्डनदेउपुर नगरपालिकामा न्यायीक समिति गठन भएको छ । हिउँदे सभाबाट उपप्रमुख निर्मला शाहीको संयोजकत्वमा न्यायीक समिति गठन भएको छ । मण्डन देउपुर नगरपालिकामा पनि भवन अभावका कारण इजलास निर्माण गर्न कठिन भएको उपप्रमुख शाहिले बताईन् । तर पनि नागरिकका उजुरीहरुलाई आफ्नै कार्यकक्षबाट समाधान गर्दै आएको शाहिले बताईन् ।

न्यायीक समितिका अन्य सदस्यहरु बस्ने, कर्मचारीको ब्यवस्थापन गर्ने र ईजलाश निर्माणका लागि नगरपालिकाको आफ्नै भवन निर्माण पछि मात्रै हुने अधिकांश स्थानीय सरकारका प्रमुखहरुले बताएका छन् ।

आफ्नै कम्पाउण्ड भित्र निर्माण भएको पनौती नगरपालिकाले भने स्थायी संरचनाको इजलाश निर्माण गरेको छ । उपप्रमुख गिता बञ्जाराको संयोजकत्वमा गठित समितिमा निला अधिकारी र मधुकृष्ण श्रेष्ठ सदस्य रहेका छन् । नगरपालिकाले १३ लाख रुपैया खर्च गरी न्यायीक समितिका संयोजकको इजलाश निर्माण गरिसकेको छ । प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीले न्यायालयका लागि अलग्गै कानुन बुझेको कर्मचारी समेत ब्यवस्थापनको तयारीमा छ ।

नगरपालिकाले राख्न सक्ने कानूनी सल्लाहकार, कर्मचारी र कानुको फाँटको जिम्मेवारी सहितको ब्यवस्थापनमा पनौती नगरपालिका अगाडी बढेको छ । जिल्लामै पहिलो इजलास सहितको न्यायीक समिति पनौतीमा स्थापना हुने भएको छ । आगामी चैत्र महिना देखि इजलासबाटै नागरिकका मुद्दाहरुको सुनुवाई हुनेछ ।

बेथान्चोक गाउँपालिकामा पनि हिउँदे सभाले उपाध्यक्ष सरिता लामिछानेको संयोजकत्वमा न्यायीक समिति गठन गरेको छ । न्यायीक समिति गठन गरे पनि इजलाश निर्माण गर्न भवन अभावकै कारण कठिन भएको संयोजक लामिछानेले बताईन् । जिल्लाका अन्य स्थानीय सरकारहरुले पनि न्यायीक समिति गठन गर्न हिउँदे सभाको तयारी गरिरहेका छन् । आफ्नै भवन भएको धुलिखेल, बनेपा नगरपालिकामा पनि इजलाश गठनको तयारी भएको छ ।

नमोबुद्ध नगरपालिकाको भवन निर्माण कार्य जारी छ । महाभारत गाउँपालिका आफै बाँसको टहरामा बसिरहेकाले भवन निर्माण कार्य सम्पन्न भए पछि मात्रै इजलास निर्माणको तयारीमा छ । चौरीदेउराली, रोशी, तेमाल र खानीखोला गाउँपालिकाको पनि भवनकै समस्या छ । पाँचखाल नगरपालिकाको एक तल्ला मात्रै भवन निर्माणको कार्य सम्पन्न भएकाले बाँकी तल्लाको निर्माण कार्य सम्पन्न भएपछि मात्रै इजलास निर्माण गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्