नागरिकलाई विपद् सूचना केन्द्र



काभ्रे । विनाशकारी भुकम्पमा अतालिएका सर्वसाधारणहरुको दैनिक जीवन सामान्यीकरण गर्न तथा तत्काल उद्धार गर्न असहज भएको परिस्थितीलाई मध्यनजर गर्दै स्थानीय सरकारहरुले विपद्बाट जोगिन र विपद्को ब्यवस्थापन शुरु गरेका छन् ।

स्थानीय सरकार मध्ये पनौती नगरपालिकाले विपद् सूचना केन्द्रको स्थापनासँगै नगर भित्र विपद् ब्यवस्थापनका लागि ६ वटा भण्डारण कक्ष तयार गरेको छ । नगरपालिकाका प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार नगरका ६ वटा भण्डारण केन्द्रमा तत्काल विपद् ब्यवस्थापन गर्न आवश्यक पर्ने सामाग्री भण्डारण गरिएको छ । प्रत्येक भण्डारण कक्षमा चार लाख बराबरका आवश्यक सामाग्री राखिएको छ ।

एक पटक उक्त सामाग्री प्रयोग भएपछि पुनः ति सामाग्रीहरु भण्डारण गर्न नगरपालिकाले वडाहरुमा विनियोजन गरिएको बजेटबाट ब्यवस्थापन मिलाउन नितिगत निर्देशन समेत दिएको छ । अन्य नगरपालिकाहरुमा पनि विपद् ब्यवस्थापनका लागि योजना र बजेटको ब्यवस्थापन गरिएको भए पनि सूचना केन्द्रको निर्माण भने हुन सकेको छैन ।
विश्वास परियोजना अन्र्तगत इन्फो र प्राक्टिकल एक्टाको सहयोगमा नगरपालिकाको कम्पाउण्ड भित्र १७ लाख रुपैयामा उक्त सूचना केन्द्र निर्माण गरिएको थियो ।

निर्माण भएको सूचना केन्द्र दुई महिना अघि हस्तान्तरण भएको नगरपालिकाका प्रमुख भिम न्यौपानेले जानकारी दिए । विपद सूचना केन्द्रमा विपद सम्वन्धी श्रब्य र दृश्य सामाग्री राखिएको छ । सूचना केन्द्रको निर्माण समेत भुकम्प प्रतिरोधात्मक भएकाले त्यसको वालहरुमा समेत घर निर्माण गर्दा अपनाउनु पर्ने उपाय, प्रविधि र मात्राको बारेमा उल्लेख गरिएको छ । विपद् जोखिम योजना निर्माण गरी खोज तथा उद्धार सम्वन्धी तालिम प्रदान गरिएको छ । त्यसका लागि प्रत्येक वडाहरुमा स्वंसेवक तयार गरिएको छ ।

तालिममा कृत्रिम घटना अभ्यास गराई नगरबासिहरुमा हुन सक्ने विपद्बाट तत्काल उद्धार गर्न सहयोग पु¥याउने तयारी गरिएको छ ।

राष्ट्रिय भवन निर्माण संहिता अनुसार भुकम्प प्रतिरोधात्मक भवन निर्माणको जानकारी पनि विपद् सूचना केन्द्र मार्फत उपलब्ध गराईन थालेको छ । नगर भित्र हुने जुनसुकै र जस्तोसुकै जोखिमबाट नगरबासिहरुको जनधनको क्षति न्युनिकरण गर्न नगरपालिकाले आवश्ययक तयारी गरिरहेको प्रमुख भिम न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्