एकदिवसीय विश्वकप छनोट: नेपालको कठिन प्रतिस्पर्धा



काठमाडौं । एकदिवसीय विश्वकप छनोटमा नेपाल रहेको समूह ‘बी’ मा लगातार दुई खेल जित्दै स्कटल्याण्ड शीर्ष स्थानमा छ । आज नेपालले सामना गर्ने स्कटल्याण्डको खेल निकै लयमा भएकाले नेपालले सम्हालिएर खेल्नुपर्ने देखिन्छ । यसअघिका खेलमा पनि स्कटल्याण्ड नेपालमाथि हाबी हुँदै आएकाले पनि नेपाली टोलीलाई थप चुनौती छ ।

नेपाली टोलीका प्रशिक्षक जगत टमाटा पहिलो खेलबाट अनुभव भएकाले दोस्रो खेलमा दबाब नलिई खेल्ने बताउँछन् । बुलावायो मैदानमा हुने खेलमा मैदानको अवस्था आँकलन गर्न कठन छ । जिम्बावेले पहिलो खेलमा यही मैदानमा ३ सय ८० रन बनाएको थियो ।

यहीँ जिम्बावेले १ सय ९७ रनको लक्ष्य पछ्याएको अफगानिस्तानलाई रोकेको पनि थियो । प्रतियोगितामा बलियो देखिएको स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । मंगलबार भएको दोस्रो खेलमा स्कटल्याण्डले हङकङलाई ४ विकेटले हरायो ।

टस जितेर पहिले फिल्डिङ गरेको स्कटल्याण्डले ३८ ओभर २ बलमा ९१ रन बनाउँदा हङकङलाई अलआउट गरेको हो । स्कटल्याण्डले लक्ष्य २३ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो । समूह ‘बी’ मा स्कटल्याण्ड र जिम्बावेले दुई÷दुई खेल जितेका छन् । अफगानिस्तानले दुई खेल हारेको छ भने नेपाल र हङकङले एक÷एक खेल हारेका छन् ।

स्कटल्याण्ड र नेपालबीच एकदिवसीय खेलमा पछिल्लो चार वर्षमा तीन पटक खेल भएको छ । जसमा नेपालले सबै खेल हारेको छ । सन् २०१४ को विश्वकप छनोटमा स्कटल्याण्डले नेपाललाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको थियो । न्युजिल्यान्डमा भएको खेलमा स्कटल्याण्डले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको नेपालले १ सय ५९ रन मात्र बनाएको थियो ।

यस्तै सन् २०१५ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र स्कटल्याण्डबीच पहिलो चरणमा दुई खेल भएका थिए । स्कटल्याण्डमा भएको दुवै खेल नेपालले हा¥यो । नेपालले पहिलो खेल ३ रनले र दोस्रो खेल ९ विकेटले हारेको थियो । छनोट खेलमा नेपाल आयोजक जिम्बावेसँगै स्कटल्याण्ड, अफगानिस्तान र हङकङ रहेको समूह ‘बी’ मा छ । समूह ‘ए’मा आयरल्याण्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, वेस्ट इन्डिज र युएई छन् ।

दुवै समूहका शीर्ष ३–३ टिम सुपर–६ मा पुग्नेछन् । सुपर सिक्समा लिग खेलहरू हुनेछन् । जसमा शीर्ष २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुनेछ । नेपालले तेस्रो खेलमा आउँदो २६ गते अफगानिस्तानसँग र २८ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनोटमा नेपाल पहिलो खेलमा पराजित भएसँगै सुपर सिक्स बारे आँकलन सुरू भएको छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित भएको हो । नेपालले स्कटल्याण्डलाई हराउन सके अघिल्लो चरणमा जाने सम्भावना त बलियो हुन्छ नै साथै अफगानिस्तान र हङकङसँगको खेलमा मनोबल पनि उच्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस्