संसारका ५ ठूला अर्बपतिहरू



थपियो विनोद चौधरीको सम्पत्ति
कुल सम्पत्तिः १ अर्ब ५२ करोड अमेरिकी डलर
फोब्र्स अर्बपति सूचीमा गतवर्ष १५ सय ६७औं स्थानमा रहेका एकमात्र नेपाली अर्बपति सो सूचीमा यसवर्ष १५ सय ६१औं स्थानमा छन्। उनको कुल सम्पत्ति १ अर्ब ३० करोड अमेरिकी डलरबाट बढेर १ अर्ब ५२ करोड अमेरिकी डलर पुगेको छ। नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसदसमेत रहेका चौधरी सीजी कर्पोरेसनका मालिक हुन्। ६२ वर्षीय चौधरी पछिल्लो ३ वर्षदेखि फोब्र्सको अर्बपति सूचीमा अटाउँदै आएका छन्। चौधरी गु्रपको उत्पादन वाईवाई चाउचाउ नेपाललगायत भारत, बंगलादेश, सर्बिया र साउदी अरेबियामा बिक्री हुँदै आएको छ। चौधरीको नबिल बैंकमा पनि लगानी रहेको छ।


 

जेफ बेजोजः अमेरिका
कुल सम्पत्तिः १ खर्ब १२ अर्ब अमेरिकी डलर
जेफ बेजोज खर्बपतिको सूचीमा नाम दर्ज गराउने विश्वको पहिलो व्यक्ति बनेका छन्। हरेक वर्ष अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सले सार्वजनिक गर्दै आएको अर्बपतिको सूची पार गर्दै बेजोज खर्बपति बनेका हुन्।

गर्त वर्ष बेजोजको सम्पत्ति ७२ अर्ब ८० करोड अमेरिकी डलर थियो भने उनी अर्बपतिहरूको सूचीमा तेस्रो नम्बरमा थिए। फोब्र्सका अनुसार यसवर्ष उनको सम्पत्ति १ खर्ब १२ अर्ब अमेरिकी डलर छ। ५४ वर्षीय अमेरिकी नागरिक बेजोज अमेजन कम्पनीका मालिक हुन्। अमेजन विश्व बजारमा विद्युतीय र अनलाइन व्यापारका क्षेत्रमा सबैभन्दा ठूलो सफलता हात पार्ने कम्पनी हो। सन् १९९४ मा स्थापना भएको कम्पनीको हालको प्रतिकित्ता सेयर मूल्य १५ सय ३८ अमेरिकी डलर छ।

बिल गेट्सः अमेरिका
कुल सम्पत्तिः ९० अर्ब अमेरिकी डलर
विगत ४ वर्षदेखि विल गेट्स विश्वका धनीहरूको सूचीमा लगातार पहिलो स्थानमा रहँदै आएका थिए। तर यसवर्ष उनलाई बेजोजले उछिनेपछि अर्बपतिको सूचीमा उनको नाम दोस्रो स्थानमा छ। २०१७ मा ८६ अर्ब अमेरिकी डलरका मालिक गेट्सको सम्पत्ति एक वर्षमा ४ अर्ब थपिएर ९० अर्ब अमेरिकी डलर पुगेको छ।

६२ वर्षका गेट्स माइक्रोसफ्ट कम्पनीका मालिक हुन्। गेट्स पछिल्लो १९ वर्षदेखि अर्बपतिको सूचीमा रहँदै आएका छन्। बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनमार्फत् बिल गेट्स र उनकी श्रीमती मेलिन्डा गेट्स परोपकार र समाज सेवामा निकै सक्रिय छन्। स्वास्थ्य सेवा र विश्वबाट पोलियो रोग उन्मूलनमा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको ठूलो योगदान छ।

वारेन बफेटः अमेरिका
कुल सम्पत्तिः ८४ अर्ब अमेरिकी डलर
बर्कसायर ह्याथवे कम्पनीका प्रमुख कार्यकारी निर्देशक वारेन बफेट गत वर्षको अर्बपति सूचीमा दोस्रो स्थानमा थिए। एक वर्षमा उनको सम्पत्ति ९ अर्ब अमेरिकी डलर बराबरले बढेर ८४ अर्ब अमेरिकी डलर पुगेको छ।

९७ वर्षीय बफेट ‘ओरेकल अफ् ओमाहा’का नामले पनि चिनिन्छन्। उनले ११ वर्षको उमेरमा पूँजी बजारमा लगानी गर्न शुरू गरेका थिए भने १३ वर्षको उमेरमा सरकारलाई कर तिरेका थिए। अमेरिकाको ओमाहा शहरमा प्रधान कार्यालय रहेको ह्याथ्वे कम्पनीको विश्वकै सबैभन्दा महँगो सेयर भएको कम्पनी हो। कम्पनीको एक कित्ता सेयर मूल्य ३ लाख ७ हजार अमेरिकन डलर रहेको छ। बर्कसायर ह्याथवेअन्तर्गत नेटजेट, हल्र्जबर्ग डाईमोन्ड, कोकाकोला, लुब्रीजोल, डेरी क्वीन, फ्लाइट सेफ्टीलगायतका कम्पनीहरू पर्दछन्।

बेर्नाड अर्नाल्ट, फ्रान्स
कुल सम्पत्तिः ७२ अर्ब अमेरिकी डलर
६९ वर्षीय फ्रान्सेली नागरिक बेर्नाड अर्नाल्टको सम्पत्ति ७२ अर्ब अमेरिकी डलर बराबर छ। अर्नाल्ट विश्वको सबैभन्दा ठूलो विलासिताका सामग्रीको कारोबार गर्ने कम्पनी एलभीएमएचका संस्थापक तथा सीईओ हुन्। अर्नान्ड फ्रान्सको सबैभन्दा धनी व्यक्ति हुन्। उनले यसवर्ष मात्र ३० अर्ब ५० करोड अमेरिकी डलर जोडेका छन्।

मार्क जुकरवर्गः अमेरिका
कुल सम्पत्तिः ७१ अर्ब अमेरिकी डलर
सामाजिक सञ्जाल फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरवर्गको सम्पत्ति अघिल्लो वर्षको भन्दा १५ अर्ब अमेरिकी डलर बराबरले बढेको छ। ३३ वर्षीय जुकरवर्गको कुल सम्पत्ति ७१ अर्ब अमेरिकी डलर रहेको छ। जुकरवर्गले १९ वर्षको उमेरमा सन् २००४ मा फेसबुकको स्थापना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्