गोल्डेन डायमन्ड मेला शुरू



नेपाल समाचारपत्र
ललितपुर
ललितपुरमा ५ दिने गोल्डेन डायमन्ड मेला–२०७४ बुधबार शुरू भएको छ। १ सय ८औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मंगलबजारको हखाटोल (बुद्ध प्रतिमास्थल अगाडि) सो मेला सञ्चालन गरिएको हो।

‘आजको नारी परिर्वतनकारी, लगाउँछिन् गोल्डेन डायमन्ड ज्वेलरी’ भन्ने मुख्य नाराका गोल्डेन डायमन्ड एन्ड ज्वेलरीले सो मेलाको आयोजना गरिएको हो। मेलाको एक समारोहका बीच वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले शुभारम्भ गर्नुभयो।

सो अवसरमा वरिष्ठ संस्कृतिविद् जोशीले सुनचाँदीको गरगहना बनाउने टोलका रूपमा सयौं वर्षदेखि हःखा टोलको चिनारी रहेको उल्लेख गर्दै अहिले मेलाका रूपमा आयोजना गर्नु सराहनीय रहेको बताउनुभयो।

ललितपुरमा २००८ सालमा भएको मेलामा पहिलो पटक गहना, कलाहरू प्रदर्शनी गरिएको चर्चा गर्दै उहाँले त्यसको निरन्तरताको रूपमा अहिले पनि बेलाबखत मेलाहरू आयोजना गर्नुले ललितपुरको मौलिक उत्पादनलाई चिनाउने बताउनुभयो।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले संघले आउँदो फागुन मसान्तमा ललित अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न लागेको बताउँदै त्यसलाई सफल पार्न सबैको साथ र सहयोगको आवश्यक रहने बताउनुभयो।

सो अवसरमा ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष किरणभाइ वज्राचार्यले गहना किन्नु र लगाउनु सौन्दर्यको विषय नभई बचत गरिएको सम्पत्तिरूपमा बुझ्नुपर्नेमा जोड दिनुभयो।

नयाँनयाँ डिजाइनका गरगहना एउटै थलोबाट सुपथ मूल्यमा उपलब्ध गराउन सो मेला आयोजना गरिएको कम्पनीका अध्यक्ष ज्ञानुराजा शाक्यले जानकारी दिनुभयो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको उपाध्यक्षसमेत रहनुभएका शाक्यले परिवर्तित समय, आम उपभोक्ताको नयाँनयाँ चाहना, बढ्दो मागअनुरूप सुनसँगै हीरा–जवाहरातका गरगहनाहरूको माग बढ्दै अवस्थामा सो मेला गरिएको बताउनुभयो। प्रदर्शनीमा नयाँ तथा आकर्षक सुन र हीराका गहनाहरूको प्रदर्शनीमा राखिएको छ। मेलामा आधुनिक तथा परम्परागत शैली र मिश्रित एवं नवीनतम डिजाइनयुक्त गरगहनाहरू प्रदर्शनी र बिक्रीका लागि राखिएको छ। प्रदर्शनीमा टाउकोदेखि खुट्टासम्म प्रयोग हुने सबैखालका सुन तथा हीराका उच्च गुणस्तरीय गरगहनाहरू रहेको छ।

मेलामा हीराका गरगहनामा विशेष आकर्षक छुटका साथै सुनका गरगहनामा ज्याला छुट तथा प्रत्येक ग्राहकलाई गिफ्ट ह्याम्परको समेत व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ।

मेलाको अन्तिम दिन एक जनालाई ‘लक्की ड्र’मार्फत विशेष पुरस्कारसमेत दिने छौं’, उहाँले भन्नुभयो– ‘त्यसैगरी प्रत्येक खरिदमा हात खाली नहुने गरी उपहारको व्यवस्था रहेको छ भने नवविवाहित एक जोडीलाई २ रात ३ दिनको हनिमुन प्याकेजको व्यवस्था गरेका छौं।’ ग्यारेन्टी कार्डअनुसार गरगहना टुटफुट भएमा बिना शुल्क मर्मत गरिने नीति पनि कम्पनीले लिएको छ।

प्रतिक्रिया दिनुहोस्