सञ्चालनमा आउनुअघि नै विवाद



नेपाल समाचारपत्र
काठमाडौं
भक्तपुरको कमलविनायकमा निर्माणाधीन होटल यातुको सञ्चालनमा आउनुअघि नै सञ्चालकहरूबीच विवाद भएको छ। कम्पनी रजिस्ट्रार कार्यालयमा एउटै होटलको संरचना दुई कम्पनीको नाममा रजिस्ट्रर भएपछि सञ्चालकबीचको विवाद छताछुल्ल भएको हो।

एउटा भवनमा होटल सञ्चालन गर्ने तयारी गरेको होटल यातु कम्पनीको कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७३ साल फागुन १५ गते कम्पनी ऐन दफा ५ को उपदफा १ बमोजिम दर्ता नम्बर १६४४६९ होटल यातुको नाममा दर्ता भएको छ। त्यसमा तीन जनाको शेयरवालाहरूको लगानी रहेको छ। कम्पनीको दर्ताअनुसार होटलमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्रकार तथा सरु महत र होटल डे कोर्टयार्ड भक्तपुरको सञ्चालक रहेका छन्।

कम्पनीका सञ्चालक ताम्रकारले कम्पनी रजिष्ट्रार कार्यालयमा अर्काे होटल याचुको नाममा दर्ता गराउनुभएको थियो। दर्ता नम्बर १७६४०४ मा २०७४ आश्विन २६ गते होटललाई दर्ता गराइएको थियो। कम्पनीको अर्का शेयरकर्ता महतलाई बाहिर राखेर ताम्रकारले एकलौटी अर्का कम्पनी दर्ता गराएको पाइएको छ। त्यसमा ताम्रकार र हिराकेशरीको सञ्चालक रहेको कम्पनी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सञ्चालकबीच विवाद उत्पन्न हुँदा त्यही संरचनामा अर्को नाउँमा होटल चलाउने भन्दै कम्पनी दर्ता भएको छ। ताम्रकारले कम्पनी रजिष्ट्रारकै कार्यालयमा होटल याचु प्रालिको नामबाट अर्को कम्पनीले प्रमाणपत्र पाएको थियो।
कम्पनी रजिष्ट्रार कार्यालयका प्रमुख गीता कुमारी हुँमागाईंका अनुसार कम्पनी ऐन २०६३ अनुसार सार्वजनिक निजी साझेदारी व्यावसायमा समान उद्देश्य भएको हकमा अर्काे सञ्चालकले कम्पनी ऐनअनुसार कम्पनी दर्ता गर्न पाउने भन्ने छ। सोहीबमोजिम एउटै होटल अर्का कम्पनीको नाममा पुनः दर्ता भएको हुन सक्ने बताउनुभयो। कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार साझेदारी व्यावसायमा यस्ता खालको समस्याहरूको उजुरी आउने गरेको समेत जानकारी दिनुभयो। एउटै संरचनाको दुई दर्ता भएको उजुरी आएको खण्डमा पछिको कम्पनी खारेज हुनसक्ने छ।

सो होटलमा ताम्रकारको ५२ प्रतिशत सेयर छ भने सरु महत र होटल कोर्टियाडको ४८ प्रतिशत सेयर रहेको छ। होटल कोर्टियाड भने महतको एकलौटी लगानी रहेको छ। यसमा पनि महतले बढी लगानी गरेर ताम्रकारले थोरै सेयर दिएको भनाइ छ। महतको हालसम्म १ करोड ३२ लाखभन्दा बढी लगानी भइसकेको छ। ताम्रकारले भने आफ्नो लगानी धेरै रहेको बताउनुभयो। होटलमा ताम्रकारको १ करोड ४ लाख रुपियाँ, होटल डि कोर्टियाडको र महतको नाममा क्रमशः ४८ लाख र ४८ लाख रुपियाँ सेयर पँुजी रहेको महत पक्षले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

होटल यातुकी एक साझेदार महत र उनका पति मणिविक्रम शाहले उक्त कुरा भक्तपुर उद्योग वाणिज्य संघको स्मारिकामा होटल याचुको विज्ञापन आएपछि मात्र थाहा पाए। ‘ताम्रकारले आफूलाई धोका दिएर अर्का कम्पनी खोलेको बताएका छन्।’ –शाह दम्पतीले भने। ताम्रकारले अर्काे होटल याचु बनाएर त्यसको वेबसाइट र फोन नम्बर राखेर प्रचारप्रसार पनि गरिरहेका छन्। तर होटल यातु प्रालि पनि वबेसाइड छ। होटल रहेको जग्गा पनि ताम्रकारकै हो। प्रतिमहिना ४ लाख रुपियाँ बुझाउने गरी २० वर्षका लागि भाडामा लिने सहमति भएको शाह दम्पतीले बताएका छन्। ताम्रकारले भने यस विषयमा पत्रकार सम्मेलन गरेर नै जानकारी गराउने बताउनुभयो। कानुनी उपचारको बाटो खोजिने उहाृको भनाइ छ। यता शाहले भने आफूले कुरा गर्न खोज्दा सम्पर्कमा नै नआएर एकलौटी होटल सञ्चालनको तयारी थालेको बताउनुभयो।

होटल निर्माणको अन्तिम चरणमा आएर लगानीकर्ता ताम्रकारले एकपक्ष ढङ्गले लगानीको स्वामित्व एकल बनाउन लागिपरेको भन्दै कानुनी उपचारको बाटोमा जाने सरु महतले बताउनुभयो। साथै आफूलाई होटेलमा कुनै हिस्सा नदिने गरी एकलौटी सञ्चालनमा ल्याउने तयारी भएको महतका पति मणिविक्रम शाहको आरोप रहेको छ।
ताम्रकार स्वयंले होटल सञ्चालन गर्ने हो भने आफूलाई मासिक ५ लाख रुपियाँ दिनुपर्ने नभए आफूलाई होटल सञ्चालन गर्न दिएको खण्डमा ६ देखि ८ लाख रुपियाँ ताम्रकारलाई दिने प्रस्ताव गरेको शाह पक्षले जानकारी दिएको छ। यदि ताम्रकारले एकल सञ्चालन गर्ने भएमा शाह पक्षको होटलमा लगानी भएको १ करोड ३२ लाख रुपियाँ फिर्ता दिनुपर्ने शाहको पक्षको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्