रियल र लिभरपुल क्वाटरफाइनलमा



लन्डन, (एजेन्सी)
स्पेनिस फुटबलका महारथी रियल मेड्रिड र इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

अन्तिम १६ अन्तर्गत सोमबार भएको दोस्रो लेगको खेलमा रियल मेड्रिडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई समग्रमा ५–२ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। घरेलु मैदानमा भएको पहिलो लेगमा ३–१ ले विजयी भएको रियलले दोस्रो लेगमा पीएसजीलाई उसैको मैदानमा २–१ ले पराजित गरेको थियो।

टोलीको जितमा क्रिस्टियानो रोनाल्डोले ५१औं मिनेटमा लुकास भाजक्वेजको पासमा हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। सो गोलसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा पूर्वक्लब म्यानचेस्टर युनाइटेडका सहकर्मी रुड भान निस्टरोयसँगको कीर्तिमान बराबरी गरेका छन्। नेदरल्यान्ड्सका पूर्वस्टार निस्टरोयले युनाइटेडमा १५ वर्ष बिताउने क्रममा च्याम्पियन्स लिगका लगातार ९ खेलमा गोल गरेका थिए। च्याम्पियन्स लिगको पछिल्लो सिजनको फाइनलमा युभेन्ट्सविरुद्ध २ गोल गरेका रोनाल्डोले पनि लगातार नौं खेलमा गोल गरेका छन्।

यता ६६औं मिनेटमा पीएसजी १० खेलाडीमा सीमित भएको थियो। पहिलो हाफमा पहेंलो कार्ड पाएका मार्को भेराइटीले दोस्रो हाफमा अर्को पहेँलो कार्ड पाउँदै मैदान छोड्नुपरेको थियो। यसको बाबजुद ७१औं मिनेटमा एडिन्सन काभानीले घरेलु टोलीका तर्फबाट बराबरी गोल फर्काउँदै कडा चुनौती प्रस्तुत गरेको थियो। थियागो सिल्भाको हेड प्रहार एडिन्सन काभानीलाई लाग्दै बलले पोस्टको दिशा लिएको थियो। तर ८०औं मिनेटमा मिडफिल्डर क्यासेमिरोको प्रहार गोलमा परिणत भएपछि रियलले जित हात पारेको थियो। जबकी रियलको लागि बराबरी वा एक गोलअन्तरले हारे पनि अन्तिम आठमा पुग्ने तय थियो। पीएसजीका लागि यो खेल २–० गोलअन्तरले जित्नु आवश्यक थियो। तर प्रमुख खेलाडी नेयमार अघिल्ला खेलमा घाइते हुनु पनि पीएसजीका लागि नोक्सान भएको थियो।

यता दोस्रो लेगमा एफसी पोर्टोसँग गोलरहित बराबरीमा रोकिएपनि पहिलो लेगमा ५–० को जित हात पारेको लिभरपुल समग्रमा ५–० ले नै विजयी हुंदै अन्तिम आठमा पुगेको हो। दोस्रो लेगको खेलमा लिभरपुलले गोलको लागि थुप्रै आक्रमण गरे पनि सफल हुन सकेन। यता पोर्टोले पनि केही असफल प्रयास गरेका थिए।

प्रतिक्रिया दिनुहोस्