प्रतिशोध होइन, सुशासनको चाहियो



नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक संघीय साशन प्रणालीले सार्थकता प्राप्त गरेको अवस्था छ। देशमा तीन तहको स्थानीय, प्रदेश र संघीय प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भई तत्–तत् स्थानमा जनप्रतिनिधिमूलक साशन व्यवस्थाले मूर्तरूप लिन लागेको अवस्था छ।

जनताद्वारा चुनिएका जनप्रतिनिधिहरूबाट देशको सुशासन सञ्चालन हुँदै गरेको अवस्था छ। यही फागुन ३ गते जनताद्वारा अनुमोदित पार्टीका प्रतिनिधिले नेपाल सरकारको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री पदमा शपथ लिई काम शुरू गरेको अवस्था छ। संघीय प्रतिनिधिसभाबाट छानिने परम्परामा फेरबदल भई राज्य संरचनाद्वारा खोजिएको सभामुख, राष्ट्रपति, उपराष्ट्रपतिजस्ता महत्वपूर्ण पदहरू निर्वाचनको टुंगो लागेर उम्मेदवार पनि तय भएको अवस्था हो। हिजो जुन परिवेशमा राजनीतिक परिदृश्यले राज्य सञ्चालन भएको र छनोट प्रक्रिया भएको थियो, आज त्यस्तो अवस्था नभई नयाँपन देखा परेको छ। राज्यको संरचनादेखि सामाजिक, आर्थिक र राजनीतिक स्थिरताको लागि राज्य संयन्त्र लागिपर्नुपर्ने अवस्था छ। यसले एकातिर राज्य सञ्चालन र निर्माण प्रक्रियामा फरक अनुभूति भएको छ भने अर्कोतर्फ रचनात्मक कार्य र आर्थिक विकासका पूर्वाधार कसरी विकसित गर्ने तथा सकारात्मक राजनीतिक चिन्तन कसरी बढाउने भन्ने जिम्मेवारी पनि बोध गराउँदै गरेको अवस्था छ।

पुरानो राजनीतिक परिदृश्य बदलिई वर्तमान राजनीतिक परिदृश्य नयाँ चिराबाट बढिरहेको छ। देशलाई कसरी सक्षम र सम्मुन्नत अवस्थामा लैजाने तथा प्रदेशस्तरीय राजनीतिक स्थिरता कायम गरी विकासका पूर्वाधारहरू निर्माण गर्ने भन्ने यक्षप्रश्नको समाधान अब खोजिँदै छ। अबको समय भनेको समस्या समाधानको उपाए सुझाउने अवस्था हो। तर यस बेला विचारमा विविधता देखा पर्न सक्छ। राजनीतिक इच्छाशक्ति र दृष्टिकोणमा नयाँ विचारधाराहरू सलबलाउन सक्छन्। मैले र हाम्रो पार्टीले जे गरेको छ, त्यति पनि यसले गर्न सक्दैन भनी टिकाटिप्पणी पनि हुने अवस्था छ। राजनीतिक फाइदा लिने चेष्टाले विभिन्न दाउपेचभित्रको विचार प्रवाह हुने अवस्था पनि देखा पर्न सक्छ।

राजनीतिक तरलता अब छैन भनी एकै दृष्टिले राष्ट्रिय चिन्तन गर्नुपर्ने अवस्थामा यो र ऊको राजनीतिक दाउपेच बढाई यो र मको राजनीतिक संस्कारले वर्तमानलाई धमिल्याउने परिस्थिति पनि जन्मन सक्छ। खुट्टा तान्ने प्रवृत्तिभित्र बाँचेका राजनीतिज्ञहरूबीच एक–अर्काको खुट्टा तानातान गर्ने अवस्था नआउला भन्न सकिन्न। राष्ट्रिय स्वार्थभन्दा व्यक्तिगत र वर्गीय स्वार्थतिर राजनीतिज्ञको ध्यान आकृष्ट हुनसक्छ। किनभने नानीको बच्चाको बानी बदल्न र त्यस बानीलाई सच्याउन जसरी ठूलै समस्याको समाधान गर्नुपरेको हुन्छ, त्यस्तो अवस्था नआउला भन्न सकिन्न। किनभने नेपालको राजनीतिक धरातल अरूबाट निर्देशित भएकोल अरूको बहकाव र निर्देशनमा परिचालन हुँदा कुनै पनि घटना घट्न र राष्ट्रियता कमजोर हुने अवस्था पनि आउन सक्छ।
भर्खर मात्र तंग्रिएको राजनीतिक परिदृश्यले समाधानको बाटो नसमाए झन् तरंगिने स्थिति पनि आउन सक्छ। फुटाऊ र राज गर भन्ने मानसिकता रहेका नेतृत्वपंक्तिमा सकारात्मकभन्दा नकारात्मक प्रवृत्ति जागृत हुने सम्भावना पनि बढी छ। किनभने हिँजो जुन अवस्थामा नेपालको राजनीतिक शृङ्खलाले राजनीतिक सोच र विकासको ढोका उघारेको छ, त्यो स्थिति र वर्तमान राजनीतिक अवस्था फरक रहेको छ। राजनीतिमा राम्रा, नराम्रा दुबै किसिमका गतिविधिहरू भइरहने र क्षणभरमै कुनै पनि परिस्थितिले जन्म लिने स्थिति हुँदा यस्तै भैहाल्छ भन्ने स्थिति छैन। आजसम्मको अवस्थालाई मूल्यांकन गर्ने हो भने, एकाधकालमा बाहेक राष्ट्रिय चिन्तन मनन गर्ने विचारको खडेरीजस्तो पनि देखिने अवस्था छ।

आफूलाई मन परेको व्यक्ति र पदले गरेको सबै राम्रो र अरूले गरेको राम्रा कार्य पनि नराम्रो छ भनी आक्षेप लगाउने विचार पनि सम्प्रेषण हुन थालिसकेका छन्। वर्तमानमा विरोधको मानसिकताले राम्रो पनि नराम्रो भइरहेको अवस्थामा यस्तो हुँदैन भन्ने ग्यारेन्टी पनि छैन। तसर्थ वर्तमान अवस्थामा आएको परिवर्तित राजनीतिक अवस्थामा यी र यस्ता गतिविधि नदोहोरिएला भन्न नसकिने भएकाले यसतर्फ चिन्तन बढ्न जरुरी छ। किनकि प्रतिशोधको भावनाले विचारमा भिन्नता आउनु भनेको वास्तवमा राष्ट्रिय चिन्तन कमजोर हुनु हो।

विगत केही समयदेखिको राजनीतिक पृष्ठभूमिलाई हेर्दा यस्ता अवाञ्छित विचारहरू फेरि नदोहोरिएलान् भन्न सकिन्न। साथै विचारको विविधता र स्वार्थपरक राजनीतिक सोचले वर्तमानमा सफलता उन्मुख संघीयतामाथि नै प्रश्नचिन्ह नउठ्ला भन्न सकिँदैन। किनभने नेपाली राजनीतिज्ञहरूको आनिबानी हेर्दा त्यस्तो हुन सक्दैन भन्ने आधार पनि कमजोर छ। हिजो राज्यको ढुकुटीलाई पेवा ठानी मन लागेको गर्न पल्किएका छदमभेषी राजनीतिज्ञले जनतामाझ ‘मुते न्यानो’ हुने गरी आफू निष्कलंकित छु भनी वकालत गरेको हामीले प्रस्ट देखेका छौं। आफ्नो सोच र भिजनलाई प्रस्तुत हुनुको साटो अरूले देखाएको बाटोमा मैले यस्तो र उस्तो गरें भनी समस्या थोपर्ने राजनीतिज्ञ यहाँ धेरै छन्। त्यति मात्र होइन, विचारलाई रकममा सटाइ गर्ने प्रवृत्ति पनि राजनीतिज्ञमा नदेखिएका होइनन्।

तसर्थ, यस्तो जटिल परिस्थितिमा संघीय शासन प्रणालीले कसरी सार्थकता प्राप्त गर्न सक्छ ? त्यसतर्फ अब सचेत नेपाली राजनीतिज्ञको ध्यान जान जरुरी छ। लादिएको विचारभन्दा नयाँ र स्फूर्तमा आउने विचार र प्रतिभालाई उजागर गरी राजनीतिलाई साँघुरो घेराभित्र होइन, जनताको अभिमतको उच्च मूल्यांकन गर्दै स्पष्ट दिशानिर्देशन गर्नुपरेको छ। हिजो अर्थविज्ञले आर्थिक अवस्था कमजोर भएको मूल्यांकन गर्दागर्दै पनि राज्यको ढुकुटीमा जथाभावी गर्न खोज्ने चिन्तकझँै फेरि पनि वर्तमान नेतृत्व लागेमा यो भन्दा दुर्भाग्य नेपालका लागि अरू केही हुनेछैन।

सटही प्रवृत्ति अहिले सुहाउँदैन, वर्तमान समयमा राज्यको संरचनालाई नयाँ शिराबाट नलैजाने हो भने नेपाल हाम्रो होइन, अरूको इशाराबाट चल्ने हुनसक्छ। अहिले नेपालको राजनीतिक यात्रा कठिन मोडमा छ। राजनीतिज्ञबाट थोरै मात्र गलत चिन्तन र बाटो समाइयो भने यसले अर्कै रूप लिन सक्छ। हिजो राजनीतिक आचारसंहिता उल्लंघन भएका धेरै उदाहरण छन्। तसर्थ, यस्तो जटिल परिस्थितिभित्र निर्माण भएको नयाँ सरकारलाई थुप्रै चुनौतीहरू छन्। विरोधको राजनीति हिजैदेखि सल्बलाइरहेको छ। त्यसैले यस अवस्थामा कौवाले कान लग्यो भनी कौवापछि दगुर्नुभन्दा आफूसँग भएको क्षमता र प्रतिभालाई सदुपयोग गरेर चुनौतीलाई अवसरको रूपमा प्रयोग गर्नुपरेको छ।

अहिले फूलमा भएको काँडादेखि टाढा भाग्नुभन्दा यसको वास्तविकता अनुभूति गर्ने गरी यसको सुगन्धलाई प्रयोग गर्नुपरेको छ। नम्रता र पवित्रताको माध्यम आफूले बचनबद्ध गरेका कुरामा दूरदर्शी चिन्तन बढाई पारदर्शी चरित्र प्रदर्शन गर्नुपरेको छ। आवेग र उत्तेजनालाई वशमा राखी असल आचारण र व्यवहारबाट असल संस्कृतिको जग बसाल्नुपरेको छ। आफ्ना विचार र भावनालाई अझ परिस्कृत गर्दै अहंकारलाई परित्याग गरी सुशासन र विकासको पूर्वाधार निर्माणमा आफूलाई प्रस्तुत गर्नुपरेको छ। यो अहिलेको अवश्यकता हो।
– सुरेश कार्की, काठमाडौं

प्रतिक्रिया दिनुहोस्