उत्तर कोरियाको वार्ता गर्ने इच्छाप्रति ट्रम्पको सतर्क प्रतिक्रिया ‘झुठो अपेक्षा’ हुन सक्छ



वासिङ्टन, (एजेन्सी)
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले परमाणु कार्यक्रम परित्याग गर्ने विषयमा वार्ता गर्ने इच्छा व्यक्त गरेकोमा सतर्कतापूर्वक प्रतिक्रिया दिएका छन्।

ट्रम्पले दक्षिण कोरिया र उत्तर कोरियाबाट आइरहेको बयान अत्यन्त सकारात्मक रहेको तर यो ‘झुठो अपेक्षा’ पनि हुन सक्ने बताए। दक्षिण कोरियाले उसको प्रतिनिधिमण्डलले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटघाटमा उक्त मुद्दा उठाएको जानकारी दिएको थियो।

दक्षिण कोरियाका अनुसार किम जोङ उन अमेरिकासँग वार्ताका लागि तयार छ र हतियार परीक्षणमा पनि रोक लगाउन सक्छ। यद्यपि पहिला उत्तर कोरियासँग भएको कुराकानीमा कुनै प्रगति भएको थिएन। अमेरिका र उत्तर कोरियाका केही अधिकारीहरूले उत्तर कोरिया यसलाई हतियार विकास गर्ने कार्यक्रमका लागि समय निकाल्ने प्रयासमा प्रयोग गर्न सक्ने आशंका व्यक्त गरेका छन्। यो कडा प्रतिबन्धबाट राहत पाउने प्रयास पनि हुन सक्ने उनीहरूले बताए।

उत्तर कोरियाका तर्फबाट अहिलेसम्म यस विषयमा कुनै टिप्पणी आएको छैन। दक्षिण कोरियाका तर्फबाट उत्तर कोरिया पुगेका प्रतिनिधिमण्डलका नेता चुङ इयु योङले दुई देशका नेता अर्को महिनाको शिखर सम्मेलनमा भेट्ने सहमत भएको जानकारी दिए।

एक दशकभन्दा लामो समयपछिको यो पहिलो बैठक हुनेछ। किम जोङ उन सन् २०११ देखि सत्तामा आएका हुन्। उनी उत्तर कोरियाका नेता बनेपछि त्यस्तो कुनै बैठक भएको छैन। गत फेब्रुअरीमा दक्षिण कोरियामा भएको विन्टर ओलम्पिकका क्रममा दुई देशबीच सम्बन्ध झाँगिएको थियो। उत्तर कोरियाका खेलाडीले दक्षिण कोरियाका खेलाडीसँगै एक टोलीमा खेलेका थिए।

वासिङ्टनमा सञ्चार माध्यमसँगको कुराकानीमा ट्रम्पले उत्तर कोरियाको मामिलामा निश्चितरूपमा आफूहरूले लामो मार्ग तय गरेको बताए। उनले भने– ‘दक्षिण कोरिया र उत्तर कोरियाबाट आइरहेको बयान सकारात्मक छन्। पूरै विश्वका लागि यो ठूलो कुरा हुनेछ।’ ट्रम्पले दक्षिण कोरियामा भएको ओलम्पिकमा भाग लिएकोमा उत्तर कोरियाको प्रशंसा पनि गरे। तर यसअघि उनले चेतावनीको भाषामा एक ट्विट पनि गरेका थिए। ट्विटमा उनले यसलाई एक ‘झुठो अपेक्षा’ पनि हुन सक्ने उल्लेख गरेका थिए।

यसैबीच अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासँगको वार्ता जुनसुकै दिशामा गए पनि अमेरिका उद्देश्यमा दृढ रहेको बताएका छन्। उनले भने– ‘सबै विकल्प खुला छन् र हाम्रो नीति उत्तर कोरियाका लागि त्यतिबेलासम्म परिवर्तन हुनेछैन जबसम्म हामी उनको परमाणु कार्यक्रम बन्द गर्नेतर्फ कुनै ठोस कदम देख्दैनौं।’

उत्तर कोरियासँग भएको वार्ताको जानकारी दिनका लागि दक्षिण कोरियाली टोली यसै सप्ताहन्तमा अमेरिका जान सक्ने अनुमान गरिएको छ। मंगलबार दक्षिण कोरियाको राष्ट्रपति कार्यालयबाट जारी गरिएको एक विज्ञप्तिमा उत्तर कोरियाले कोरियाली प्रायद्वीपबाट परमाणु हतियार हटाउने इच्छा व्यक्त गरेको उल्लेख गरेको छ। यदि उत्तर कोरियामा सैन्य कारबाहीको खतरा कम भएमा र सरकार कायम रहने ग्यारेन्टी दिएमा परमाणु हतियार बनाइरहन उसका लागि कनै औचित्य नहुने जनाएको छ।तर आलोचकहरूले उत्तर कोरियाको मनसायमा आशंका व्यक्त गरेका छन्। विगतमा पनि उत्तर कोरिया आफूले भनेका कुराबाट पछाडि हटेका थिए। त्यसमा सन् २००५ मा हतियार घटाउने सम्झौता पनि एक हो।

प्रतिक्रिया दिनुहोस्