गान्धी हत्याको जाँच नहुने



नयाँदिल्ली, (एजेन्सी)
भारतको सर्वोच्च अदालतले महात्मा गान्धी हत्याकाण्डको जाँच नगराउने र यस मामिलामा पहिला भएका फैसलालाई पनि कुनै हेरफेर नगर्ने प्रस्ट पारेको छ।

सर्वोच्च अदालतले उक्त हत्याकाण्डको जाँच शुरूबाट हुनुपर्ने जिकिर गर्दै दायर गरिएको याचिकामा सुनवाइ पूरा गरेको छ। न्यायालयले उक्त भावनाबाट प्रभावित नहुने प्रस्ट पारेको छ।

अदालतले उक्त मुद्दामा पुनः सुनवाइ गराउनका लागि दिएको याचिका प्राज्ञिक शोधमा आधारित रहेको र त्यो वर्षौं पहिला भएको कुनै मामिलालाई खोल्ने आधार नबन्ने बताएको छ। भारत–पाकिस्तान विभाजनप्रति असन्तुष्ट हिन्दू अतिवादी नाथुराम गोडसेले सन् १९४८ मा पाकिस्तान भ्रमणको योजनामा रहेका अहिंसावादी नेता महात्मा गान्धीको गोली प्रहार गरी हत्या गरेका थिए।

उक्त हत्याको अपराधमा दोषी ठहरिएका गोड्सेलाई फाँसीको सजाय दिइएको थियो। भारतलाई बेलायती उपनिवेशबाट स्वतन्त्रता दिलाउन गान्धीको अहिंसावादी आन्दोलनलाई विश्व इतिहासले उच्च स्थानमा राखेर हेर्ने गरेको छ।

यद्यपि स्वतन्त्रताका लागि भएका आन्दोलन तथा भारत र पाकिस्तान अलग अलग देशका रूपमा स्वतन्त्र भएको स्थितिले उब्जाएको हिंसामा लाखौं मान्छेले ज्यान गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस्