विश्वकै सबैभन्दा पुरानो सन्देश सिसीमा !



पर्थ, (एजेन्सी)
अस्ट्रेलियाको पर्थस्थित एक परिवारले एउटा सिसीभित्र विश्वकै सबैभन्दा पुरानो सन्देश फेला पारेको छ। अस्ट्रेलियाली विशेषज्ञहरूले सो सन्देश झन्डै १ सय ३२ वर्षअघि सागरमा फ्याँकिएको विश्वास गरेका छन्। वेस्ट अस्ट्रेलियाको एउटा विकट समुद्री तटको बालुवामा हिँड्दै गरेकी टोन्या इलम्यान नामक महिलाले सो सिसी भेटाएकी थिइन्।

उनका पति किम इलम्यानले बीबीसीलाई भनेका छन्– ‘हामीले सिसीभित्र एउटा कागज भेटायौं। घरमा लगेर त्यसलाई माइक्रोओभनमा सुकाएपछि मात्र हामीले त्यसमा सन्देश लेखिएको देख्यौं।’ विशेषज्ञहरूले यो एउटा जर्मन जहाजबाट पठाइएको आधिकारिक सन्देश भएको ठोकुवा गरेका छन्। सो सन्देशमा १२ जुन १८८६ उल्लेख गरिएको छ। जर्मन नभल अब्जर्भेटरीद्वारा महासागर र जहाजका ेमार्गहरूको प्रयोग गर्ने क्रममा यस सन्देशलाई जर्मन जहाज पाउलाबाट फ्याकिएको बताइएको छ। यसअघि गिनिज वल्र्ड रेकर्डमा १ सय ८ वर्ष पुरानो सन्देशलाई विश्वकै सबैभन्दा पुरानो सन्देश मानिएको थियो।

गत जनवरी २१ मा वेड्ज टापुको उत्तरमा कारबाट गइरहेको इलम्यान परिवारले कार रोकेर बालुवामा हिँड्ने क्रममा त्यो सिसी भेटाएको हो। वेस्टर्न अस्ट्रेलियन म्युजियमका विशेषज्ञहरूले यस सम्बन्धमा अनुसन्धान गरेका हुन्।उक्त ६९ वर्ष लामो जर्मन प्रयोगको सन्दर्भमा फालिएका यस्ता हजारौं सिसीमध्ये हालसम्म ६ सय ६२ वटा मात्र भेटिएका छन्। पछिल्लो सिसी सन् १९३४ मा डेनमार्कको समुद्रमा फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्