जवाफको अपेक्षा



मंगलबार मध्यरातसम्म चलेको एमालेको स्थायी समितिको बैठकले पुनः एमाले नेतृ भण्डारीलाई राष्ट्रपति पदमा दोहोर्याउने भएको छ। सो पदका लागि वरिष्ठ नेता खनालले प्रष्ट रूपमा आकांक्षा देखाए पनि उनी फेरि ‘फ्लप’ भए। बैठकमा पार्टी नेत्तृ एवं अष्ट कम्रेडले पार्टीमा अन्य कोही महिला नै नभएर भण्डारीलाई दोहोर्याउनुपरेको भन्दै कड्किए पनि कम्रेडको पनि केही लागेन।

स्थायी समितिमा अन्य कम्रेडले पनि ‘ओलीवाद’ हावी भएको भन्दै खुलेर आलोचना गरे पनि कम्रेडहरूको केही लागेन। चर्कै विवाद भए पनि एमालले ‘कम्रेड भण्डारीको पक्षमा सर्वसम्मत निर्णय भयो’ भन्न चाहिँ छुटाएन। कम्रेड भण्डारीलाई पुनः पदमा नदोहोर्याउँदा उनलाई व्यवस्थापन गर्न समस्या हुने रे कम्रेड ओली र उनका समर्थकहरूको तर्क।

पार्टीका अन्य नेताहरूको व्यवस्थापन बारे पनि कम्रेडहरूलाई चिन्ता हुन्छ कि हुन्न होला, यसो धरहराको चासो। उता कांग्रेसले पनि राष्ट्रपति पदका लागि भोजपुरका शहीद दिवानसिंह राईकी सुपुत्री लक्ष्मी राईलाई उम्मेदवार बनाएछ। कांग्रेस केन्द्रीय कार्य समितिको बुधबारको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गर्या रे। जे भए पनि शहीद परिवारलाई सम्झिएछ कांग्रेसले।

तर राष्ट्रपति दौडका लागि भण्डारीसँग कडा प्रतिस्पर्धा हुने स्थिति रहेको भए, सो पार्टीले यति सजिलै लक्ष्मीलाई सम्झन्थ्यो होला र ? लौन, सो पार्टीका जिम्मेवार नेताहरूबाट धरहरा यसको जवाफ चाहन्छ। पाठकवृन्दहरूले यसको जवाफ दिँदा पनि फरक पर्दैन।

प्रतिक्रिया दिनुहोस्