सडक लेन पालना नगर्दाको परिणाम, एम्बुलेन्स नै जाममा पर्न थाले



मधुसूदन रायमाझी, काठमाडौं
तीनकुनेदेखि सूर्यविनायकसम्म छ लेनको सडक सञ्चालनमा आएपछि ट्राफिक जाम कम हुने अपेक्षा गरिएको थियो। तर भक्तपुरबाट कोटेश्वरसम्म आउने एक मात्र सडकमा अत्यधिक जाम हुँदा एम्बुलेन्ससमेत जाममा पर्ने गरेका छन्।

जडिबुटीदेखि कोटेश्वरसम्मको जाम छिचोल्न एम्बुलेन्सलाई समेत सास्ती हुने गरेको छ। जडिबुटीबाट कोटेश्वरतर्फ लागेपछि कोटेश्वर चोकमा अत्यधिक जाम हुने गर्छ।

एम्बुलेन्सले साइरन बजाउँदासमेत ट्राफिम जामको कारणले बिरामीलाई समयमा अस्पताल पुर्याउन नसक्ने अवस्था जडिबुटी कोटेश्वर सडकमा देखिएको छ। मंगलबार दिउँसो ११ बजे मध्यपुर ठिमी अस्पतालबाट बिरामी लिएर वीर अस्पताल हिँडेको एम्बुलेन्स जडिबुटी–काटेश्वर खण्डको आकाशे पुलमुनि साइरन बजाउँदै अगाडि बढ्यो। तर जामको कारण २० मिनेटसम्म अगाडि बढ्न सकेन। एम्बुलेन्सका चालक एम्बुलेन्स छिटो दौडाउन आक्रमक मोडमा देखिन्थे। तर अगाडि जाम देखेर दिक्क मानेर भन्दै थिए– ‘समयमा नै अस्पताल नपुर्याए बिरामीको ज्यान जोखिममा छ, पुर्याउनका लागि यस्ता जाम छ, जामकै कारण कतै बिरामीको ज्यान नै जाने हो कि?’

असिनपसिन गर्दै अगाडि बढाउन खोजे पनि कोटेश्वर चोकको जाम नखुल्दा एम्बुलेन्स चालकको अनुहार मलिन देखिन्थ्यो। बिरामीका आफन्त घरिघरि बाहिर मात्र नियाली रहेका थिए। तर जाम खुल्न लामै समय कुर्दा बिरामीका आफन्त पनि दिक्क देखिन्थे।

बिपी राजमार्ग सञ्चालनमा आएपछि यस सडकमा सवारी साधनको अत्याधिक चाप बढेको छ। ठूलो सवारीभन्दा पनि साना सवारीको संख्या दिन प्रतिदिन बढिरहेको छ। दुवैतिरको सडकमा जाम हुँदा एम्बुलेन्स चालकहरूसँग अर्को विकल्प पनि छैन।
जडिबुटीबाट काटेश्वर आउने वैकल्पिक सडक नहुँदा बिरामी बोकेका एम्बुलेन्ससमेत जाममा पर्ने गरेका छन्। बीचमा बार भएका कारण सवारी आवतजावत गर्न सक्दैनन्।

कोटेश्वर नाकाबाट मात्र दैनिक १० हजार सवारी साधन भित्रने र बाहिरिने गर्छन्। महानगरीय प्रहरी प्रभाग जगातीका अनुसार काभ्रे, सिन्धुली, ओखलढुङ्गा, खोटाङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बुलगायतका जिल्लाबाट दैनिक ६ हजार सवारी साधन उपत्यका भित्रिने र ६ हजार बाहिरिने गर्छन्।

तीनकुने–सूर्यविनाय सडक छ लेनको भए पनि सडक लेनअनुसार सवारी साधन चल्दैनन्। कोटेश्वरबाट चक्रपथतर्फ जानुपर्ने सवारी साधन जडिबुडीमै रोकिन्छन्।

हतारोमा सवारी चालकहरूले अगाडि आएर सवारी साधन रोक्दा चक्रपथतर्फ जाने सवारी साधनसमेत जाममा पर्ने गरेका छन्। कोटेश्वर–जडिबुटी सडकअन्तर्गत रहेको फुटपाथमा समेत सवारी साधन सञ्चालन हुँदा पैदल यात्रीसमेत हिँडन कठिनाइ हुने गरेको छ। पैदलयात्री सुवास बोहोराले सवारी चालकले कानुन उल्लंघन गरेर सवारी चलाएको बताउनुहुन्छ। उहाँले भन्नुभयो– ‘फुटपात पैदल यात्री हिँडनका लागि हो, तर सानका साथ मोटरसाइकल गुडाएर पैदल यात्रीलाई समेत हिँडन दिदैनन्।’

महानगरीय ट्रापिक प्रहरी महाशाखाका सहायक प्रवक्ता मुकुन्द मरासिनीले बिरामी बोकेका एम्बुलेन्सलाई सहज रूपमा आवतजावत गर्ने व्यवस्था ट्राफिक प्रहरीले मिलाएको बताउनुहुन्छ। उहाँले भन्नुभयो– ‘राष्ट्रपतिको सवारी भएको अवस्थामा पनि बिरामी बोकेका एम्बुलेन्स निर्वाध रूपमा आवतजावत गर्ने गरेका छन, एम्बुलेन्स जाममा राख्न हामी दिदैनौं।’

‘रेटलाइटमा पनि निर्वाध रूपमा विपरीत सडकबाट पनि आवतजावत गर्न गरेका छन्’ –उहाँले भन्नुभयो। तर जडिबुटीबाट कोटेश्वर आउने सडक खण्डमा भने समस्या रहेको बताउँदै वैकल्पिक सडकको व्यवस्था नहुँदा र सवारी चालकले लेनअनुसानको पालना नगर्दा बेलाबखत समस्या पर्ने गरेको मरासिनीले बताउनुभयो।
‘जडिबुटीबाट छुटने सवारी साधन काटेश्वरमा पुगेर भरिने गर्छन्, त्यस्तो बेला न एम्बुलेन्स अगाडि जान सक्छन्, न पछाडि फर्किने अवस्था रहन्छ’, –उहाँले भन्नुभयो। उपत्यकामा भएको सडकमा लेन अनुशासन उल्लंघन गर्दा पनि ट्राफिक जाम हुने गरेको छ। जाममा पर्ने बित्तिकै फुटपाथबाट समेत सवारी साधन गुड्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्