स्थानीयको स्वागतले भावुक भए नर्वेली मन्त्री



चिरञ्जीवी मास्के, दोलखा
नेपाल भ्रमणमा आएका नर्वेका अन्तर्राष्ट्रिय विकास मन्त्री निकोलाई अस्ट्रपले राजधानीभन्दा निकै टाढा दोलखाको दुर्गम चिलंखा गाउँमा पुगेर भूकम्पपछिको पुनर्निर्माणको अवस्थाको स्थलगत अवलोकनसमेत गर्नुभएको छ।

हेलिकोप्टरबाट दोलखाको बिगु गाउँपालिका–५ चिलंखास्थित लोटिङ पुग्नुभएका मन्त्री निकोलाईले भूकम्पपछि दुर्गम गाउँका विद्यार्थीहरू पक्की भवनमा बसेर पढिरहेको देखेर खुसी लागेको बताउनुभयो। भूकम्पपछि नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्ने दातामध्ये दुर्गम भेगमा पुगेर पुनर्निर्माणको बारेमा स्थलगत अवलोकन गर्ने निकोलाई पहिलो विशिष्ट पाहुना हुनुहुन्छ।

स्थलगत अवलोकनको क्रममा स्थानीयवासी, विद्यार्थी र स्थानीय जनप्रतिनिधिसँग अन्तक्र्रियासमेत गर्नुभएका निकोलाईले भूकम्प गएको तीन वर्षको अवधिमा विद्यालय भवनमा बसेर विद्यार्थीहरूले पढ्नसक्नु भनेको पुनर्निर्माणले गति लिइरहेको छ भन्ने उदाहरण भएको बताउनुभयो। ‘यो ठूलो उपलब्धि हो’, उहाँले भन्नुभयो– ‘जोखिमपूर्ण र सीमान्तकृत समूहका बालबालिकाको आधारभूत शिक्षामा पहुँच र समावेशितामा नर्वेको प्राथामिकता रहँदै आएको छ।’

भूकम्प प्रभावित चिलंखाको लोटिङमा स्थानीय जनप्रतिनिधिसंग भएको अन्र्तक्रियामा निकोलाइले समुदायमा आधारित काम गर्ने तौरतरिकाले विकास कार्यमा ठूलो मूल्य राख्ने उल्लेख गर्दै यस्तो कार्यले समुदायलाई एकाकार हुन मद्दत पुग्ने र सबैलाई बस्न उपयुक्त हुने गाँउ निर्माणमा सघाउ पुग्ने बताउनुभयो। मन्त्री निकोलाइको स्वागतका लागि दोलखा क्षेत्र नम्बर २ का प्रदेश सांसद पशुपति चौलागाईं चिलंखा पुग्नुभएको थियो। उहाँले अन्तर्राष्ट्रिय विकास मन्त्री निकोलाइको स्वागत गर्दै दोलखाको दुर्गम भूकम्प प्रभावित गाउँमा नर्वेको मन्त्रीको भ्रमणले पुनर्निर्माणको काममा थप उत्साह मिलेको बताउनुभयो।

आफ्नो दुर्गम गाँउमा विदेशको मन्त्री आइपुग्दा वृद्धवृद्धा र बालबालिकाहरू उत्साहित भएका थिए। ३ सयभन्दा बढी स्थानीयले मन्त्री निकोलाइलाई फूलमाला र खादाले स्वागत गरेका थिए।

कार्यक्रमस्थल पुगेकी स्थानीय भीमकुमारी जोशीले दुर्गम गाउँमा मन्त्रीको आगमन र नर्वेको सहयोगले बालबालिकाहरूलाई पढ्ने कुरामा ठूलो सघाउ पुगको बताउनुभयो। कक्षा ७ मा अध्यनरत विद्यार्थी पासाङ दोर्जे शेर्पाले मन्त्री विद्यालयमा आएर आफूहरूको पढाइको अनुगमन गरेकाले आफूहरूलाई निक्कै उत्साह मिलेको बताउनुभयो।

नर्वे सरकारले फोरहुड, सिविन र ग्रामीण विकास टुकी संघ दोलखामार्फत भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण परियोजनाअन्र्तगत दोलखाको विगु र कालिञ्चोक गाउँपालिकामा पर्ने चिलंखा, बाबरे, लादुक, आलम्पु, लामिडाँडा, खोपाचागु र विगुमा रहेको २२ वटा विद्यालयमा भवन, सौचालय, धारा र खेल मैदान निर्माणका लागि झण्डै २५ करोड रूपियाँ सहयोग गरेको परियोजनाका व्यवस्थापक रविन्द्र पराजुलीले बताउनुभयो।
मन्त्री निकोलाइले स्थलगत भ्रमण गरेको दोलखाको चिलंखा गाउँमा २०७२ वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पमा परी १७ जनाले ज्यान गुमाएका थिए भने दोलखा जिल्लाभरिका ३ सयभन्दा बढी विद्यालयमा क्षति पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्