सीबीसी न्युजमा अमेरिकी राष्ट्रपति ट्रम्पको क्यारिकेचर गर्ने मनोजको चर्चा



अमेरिकाको सीबीएस न्युजले विश्वका चर्चित हास्य कलाकारको सूचीमा नेपालका मनोज गजुरेललाई पनि समावेश गरेको छ। सो न्युजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गर्ने १८ जना कलाकारको सूचीमा उनको समेत चर्चा गरेको हो।

यस लिस्टमा ट्रम्पको क्यारिकेचर गर्ने कलाकारमा उनीसहित विभिन्न देशका कलाकार एलिस बाल्डविनको, एन्टोनी अटमानुक, रोबर्ट एनसलर, मार्सल फोरिस्टेरी, एलिसन ज्याक्सन, डस्टिन गोल्ड, डेनिस एलान, माइक ओस्मान, डेरिओ बाल्टिनी, जोन दि डोमेनेको, एरिक ज्याक म्यान, टुड वार्टलिक, ड्यान कोनली, आईजे मोरिस, राफेल अल्मोडभ र रोनाल्ड ग्रम्पको नाममा क्यारिकेचर गर्ने एक भारतीय हास्य कलाकारको नाम उल्लेख गरिएको छ।

मनोजले गत वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित गाईजात्रा कार्यक्रममा ट्रम्पको क्यारिकेचर गरेका थिए। उनले सिस्नोपानी देउसी नामक कार्यक्रममा पनि विषय बदलेर ट्रम्पको क्यारिकेचर गरेका थिए। उक्त कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीका साथमा अन्य नेता सहभागी थिए। त्यसबाहेक देश–विदेशमा भएका विभिन्न कार्यक्रममा समेत मनोजले अमेरिकी राष्ट्रपति ट्रम्पको क्यारिकेचर गर्दै फरकखाले मनोरञ्जन प्रदान गरेका थिए।

ताप्लेजुङमा जन्मेर झापामा हुर्की विद्यार्थी राजनीति हुँदै कलाकारितामा प्रवेश गरेका गजुरेलको व्यंग्यमा मनोरञ्जनका साथै सामाजिक र राजनैतिक सन्देश पाइन्छ। ‘म राजनीतिक व्यंग्य गर्ने मान्छे हुँ। नेपाली राजनीतिको प्रायः सबै व्यक्तिको क्यारिकेचर गरिसकेको छु। साउथ एसियन राजनीतिको अवस्थालाई व्यंग्य गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि क्यारिकेचर गरें’, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गरेको प्रसंगमा मनोजले नेपाल समाचारपत्रसँगै कुरा गर्दै भने– ‘विश्व यति साँघुरो भएछ कि मैले धेरै जना नेताको क्यारिकेचर गरिसकेछु। अब कसको क्यारिकेचर गर्ने भनेर पात्र खोज्न गाह्रो भयो। त्यही बेला यति धेरै चर्चामा भएका ट्रम्पकै क्यारिकेचर गर्नुपर्यो भनेर सोच आयो।’ मनोजले ट्रम्पकै देश अमेरिका पुगेरसमेत उनको क्यारिकेचर गरिसकेका छन् भने अन्य देशबाट पनि अफर आइरहेकाले तयारी गरिरहेको बताए।

सयौं व्यक्तिको आवाज र हाउभाउको नक्कल गरिसकेका उनले पूर्वराजा ज्ञानेन्द्रदेखि प्रचण्ड, माधव नेपाल, वामदेव गौतम, लालबाबु पण्डित, आदिको हुबहु क्यारिकेचर गर्दै आएका छन्। त्यसै गरी अमिताभ वच्चन, रामदेव बाबा, साउदी अरेबियाको सेख, चाइनिज गायक, दक्षिण भारतीय नागरीकलगायतको समेत क्यारिकेचर गरेर सबैलाई आश्चर्यमा पार्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्