उम्मेदवारी दिएपछि भण्डारी बिरुद्ध राईको गम्भीर आरोप



काठमाडौँ ।  नेपाली काँग्रेसकी नेत्री लक्ष्मी राईले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुुभएको छ ।

यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि भोजपुरका शहीद दिवानसिंह राईकी सुपुत्री लक्ष्मी राईले आज उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । उहाँका प्रस्तावकमा सांसद चित्रलेखा यादव, मानबहादुर विक, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे तथा समर्थकमा सांसद मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी, सरिता प्रसाईं, सुजाता परियार र राधा घले हुनुहुन्छ ।

उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँगै कुरा गर्दै नेत्री राईले आफ्नो उम्मेदवारी विकास र समृद्धिका लागि भएको बताउनुभयो । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन नयाँबानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

काँग्रेसको आजै बसेको केन्द्रीय कार्यसमिति बैठकले उहाँलाई पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । नेत्री राईको उम्मेदवारी मनोनयनका क्रममा पार्टीका तर्फबाट महामन्त्री डा शशाङ्क कोइराला, नेता डा मीनेन्द्र रिजाललगायत उपस्थित हुनुहुन्थ्यो ।

सो अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री डा कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनयनका लागि सिफारिस गरेका नाम अनुमोदन नगरेर स्वतन्त्र भूमिका निर्वाह नगरेको आरोप लगाउनुभयो ।

महामन्त्री डा कोइरालाले राष्ट्रपति भण्डारीको भूमिका स्वतन्त्रभन्दा पनि पार्टी विशेषतिर ढल्किएको देखिएकाले उहाँविरुद्ध आफ्नो पार्टीले उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो ।

नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति,सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ । राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ । नेकपा (एमाले) ले मंगलबार वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्