चैत १ गतेदेखि बीस वर्ष पुराना सवारीसाधन चलाए ठाउँको ठाउँ जफत



काठमाडौँं । आगामी चैत १ गतेदेखि कुनै पनि स्थानको सार्वजनिक सडकमा २० वर्ष पुराना सवारीसाधन चलाएमा जफत गरिने भएको छ ।

सरकारले २० वर्ष पुराना सार्वजनिक सवारीसाधनलाई बन्द गर्ने निर्णयअनुसार सो अभियान सञ्चालन गर्न लागेको हो । त्यसका लागि यातायात व्यवस्था विभागले ट्राफिक प्रहरी कार्यालय र देशभरका यातायात कार्यालयलाई अनुगमनका लागि पत्राचार गरिसकेको छ ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईका अनुसार  चैत १ गतेदेखि सार्वजनिक सडकमा २० वर्ष पुराना सवारी चलाएमा हामी ठाउँको ठाउँ सवारी जफत गर्छौं, १ गतेदेखि अनुगमन सुरु हुन्छ, हामीले सूचना सार्वजनिक गरिसकेका पनि छौँ ।

विभागले सवारी दुर्घटना र प्रदूषण न्यूनीकरणका लागि २० वर्ष पुराना सवारीसाधन सञ्चालन निषेध गर्ने तयारी गरेको हो तर यातायात व्यवसायीले भने सवारीको आयु २० वर्ष तोकिनु वैज्ञानिक नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्